काठमाडौं ।
न्युजिल्यान्डका डेभोन कोनवे र रचिन रविन्द्रले शतकीय पारी खेल्दै डीफेन्डिङ च्याम्पियन इंगल्यान्डविरुद्ध शानदार जीत हात पारेका छन्।
न्युजील्यान्डका लागि डेभोन १५० रन र रचिन १२३ रनमा अविजित रहे। १२१ बल खेलेका डेभोनले १९ चौका र ३ छक्का प्रहार गरेका थिए भने रचिनले ११ चौका र ५ छक्का प्रहार गरेका थिए। ओपनर विल योङ भने शून्य रनमै पेभेलियन फर्किएका थिए।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको इंगल्यान्डले ९ विकेटको क्षतिमा २८२ रन बनाएको थियो। इंगल्यान्डका लागि जोय रुटले सर्वाधिक ७७ रन बनाए। कप्तान जोस बट्लर ४३ रनमा आउट हुँदा जोनी बेयरस्टो ३३ रन बनाएर पेभेलियन फर्किए।
न्युजील्यान्डका लागि म्याट हेनरीले ३ विकेट लिए भने मिचेल सन्टनर र ग्लेन फिलिप्सले २-२ विकेट लिए। रचिन र ट्रेन्ट बल्टले एक-एक विकेट लिए।
भोलि पाकिस्तान र नेदरल्यान्डबीच खेल हुनेछ।