गृहपृष्ठ Featured डोल्पामा आयोडिनयुक्त नुन अभाव

डोल्पामा आयोडिनयुक्त नुन अभाव

जाजरकोट । 

डोल्पामा आयोडिनयुक्त नुन अभाव भएको छ। पुरानो नुन सकिएको र नयाँ ठेक्काको नुन आइनपुगेकाले डोल्पामा नुनको अभाव भएको हो। हाल सदरमुकाम दुनैबाट प्रतिव्यक्ति पाँच पोका मात्र दिने गरिएको छ। साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडबाट डोल्पामा अनुदानको नुन वितरण हुँदै आएको छ।

सदरमुकामस्थित डिपोमा चार सय ९० क्वीन्टल आयोडिनयुक्त नुन मौज्दात रहेको कार्यालय प्रमुख प्रकाश धामीले बताए। उनका अनुसार यो नुन भनेको अत्यन्तै न्यून हो। जिल्ला भरका सर्वसाधारणका लागि सदरमुकाममा मात्र नुन पाइने भएपछि प्रतिव्यक्ति मुस्किलले पाँच पोका दिने गरेको प्रमुख धामीले बताए।

सदरमुकामबाट बाहिर रहेका सबै नुनका डिपो रित्ता भएका छन्। उपल्लो डोल्पाको तिन्जे डिपोमा पाँच वर्षदेखि एक पोका नुन ढुवानी भएको छैन। चिनियाँ नाका भएर उपल्लो डोल्पामा नुन ढुवानी हुने भएपछि त्यहाँ नाका बन्द भएपछि पाँच वर्षदेखि नुन ढुवानी हुन नसकेको धामीले बताए।

गाउँका डिपोमा नुन नै नभएपछि आफू सदरमुकामस्थित डिपोमा नुन लिन पुग्दा समस्या भोगेको त्रिपुरासुन्दरी नगरपालिका–१ का स्थानीयवासी राजिमान बुढाले बताए।

सम्बन्धित् समाचार