काठमाडौं
इजरायलमा सेना र हमास लडाकुबीचको लडाइँमा मृत्यु हुनेको संख्यामा २१ सय पुगेको छ।
दुई पक्षबीच लडाइँ सुरु भएको पाँचौं दिनमा १२ सय इजरायली र ९ सय प्यालेष्टिनीको मृत्यु भएको अन्तर्राष्ट्रिय संचारमाध्यामले जनाएका छन्। इजरायली सेनाको प्रवक्ताले अहिलेसम्म १ हजार २ सय जनाको मृत्यु भएको र २ हजार ७ सय जना घाइते भएको पुष्टि गरेका अलजजिराले जनाएको छ।
इजरायलले निशाना बनाएर लगातार बम आक्रमण गरिरहेको गाजा क्षेबाट अहिलेसम्म २ लाख ६० हजारभन्दा धेरै मानिस विस्थापित भइसकेका छन्। १ लाख ७५ हजार भन्दा धेरैले यूएन स्कुलमा शरण लिएका छन्।
प्यालेष्टाइनको वाफा समाचार एजेन्सीले जनाए अनुसार इजरायली सेनाले गाजाको अलकरामा क्षेत्रमा गएराति सेतो फस्फोरस बम आक्रमण गरेको छ। सेतो फस्फोरसलाई आगो लगाउने हतियार मानिन्छ र यसको प्रयोगलाई अन्तर्राष्ट्रिय कानुनले प्रतिबन्ध गरेको छ।