गृहपृष्ठ Featured २ दिनमा नयाँ बसपार्कबाट झन्डै ४० हजार टिकट बुकिङ

२ दिनमा नयाँ बसपार्कबाट झन्डै ४० हजार टिकट बुकिङ

प्रकाशित मिति:

काठमाण्डौ ।

सरकारले दशैँमा घर जाने यात्रुलाई लक्षित गरी यही असोज २२ गतेदेखि सार्वजनिक गाडीको अग्रिम टिकट बुकिङ खुला गरेसँगै गोङ्गबुमा रहेको नयाँ बसपार्कमा टिकट लिनेको भीड लागेको छ ।

सरकारले विजयादशमी, दीपावली तथा छठ पर्वमा घर जाने यात्रुलाई लक्षित गरेर अग्रिम टिकट बुकिङ खुला गरेको हो । यति बेला सङ्घीय राजधानी काठमाण्डौमा अध्ययन, व्यापार व्यवसाय, रोजगारीलगायतका विभिन्न उद्देश्यले आएकाहरू घर जानका लागि टिकट काट्न नयाँ बसपार्कमा जम्मा भएका छन् ।

नयाँ बसपार्क सञ्चालन गरिरहेको ल्होत्से बहुउद्देश्यीय प्रालिका प्रवक्ता पङ्कज मल्लले दुई दिनमा झन्डै ४० हजार अग्रिम टिकट बुकिङ भइसकेको जानकारी दिनुभयो । उहाँका अनुसार असोज २२ गते २४ हजार तीन सय ४० र असोज २३ गते १५ हजार २५ वटा टिकट बुकिङ भइसकेको छ ।

असोज २२ गते बुकिङ भएका टिकटमध्ये कोशी, मधेस र बाग्मती प्रदेशका लागि एक हजार दुई सय ३०, गण्डकी प्रदेशका लागि नौ सय ७५, लुम्बिनी प्रदेशका लागि १३ हजार पाँच सय ३५, कर्णाली प्रदेशका लागि एक हजार सात सय र सुदूरपश्चिम प्रदेशका लागि छ हजार नौ सय वटा टिकट बुकिङ भएको छ ।

यस्तै असोज २३ गते कोशी, मधेस र बाग्मती प्रदेशका लागि एक हजार एक सय ७०, गण्डकी प्रदेशका लागि पाँच सय, लुम्बिनी प्रदेशका लागि सात हजार पाँच सय ३५, कर्णाली प्रदेशका लागि एक हजार छ सय २० र सुदूरपश्चिम प्रदेशका लागि चार हजार दुई सय वटा टिकट बुकिङ भएको छ ।

सरकारले लामो तथा मध्यम दूरीका सार्वजनिक गाडीको टिकट खुला गरेको हो । पश्चिम नेपालको दार्चुला, डडेलधुरा, धनगढी, टीकापुर, बझाङ, बाजुरा, सल्यान, रुकुम, प्युठान, दाङ, अर्घाखाँची, रोल्पा तथा पूर्वी नेपालको ताप्लेजुङ, इलाम, काँकडभिट्टा, उदयपुरलगायतका ठाउँमा जाने यात्रुको भीड  लागेको छ ।

सम्बन्धित् समाचार