काठमाडौं ।
काठमाडौंमा बस्ने राज सहनीको आफ्नो घर रहेको महोत्तरीको एकडारा गाउँपालिकाबाट व्यक्तिगत विवरण र नाता प्रमाणित गर्नुपर्ने थियो । दशैंको छुट्टी सुरु नहुँदै काम गरौं भनेर उनी वडा कार्यालय पुगे । तर, उनको कागजात बनेनन् । ‘यसकै लागि दशैंमा चाँडो घर आएको थिएँ, तर कर्मचारी आन्दोलनमा रहेको भन्दै काम भएन, रोकिएको छ । कर्मचारी भेटिँदैनन्, अब न काममा फर्कनु, न यहाँ काम हुन्छ,’ सहनी भन्छन् ।
गाउँपालिका र वडा कार्यालय खुलै भए पनि कर्मचारी नहुँदा काम हुन नसकेको गुनासो उनले गरे । स्थानीय तहका कर्मचारीको आन्दोलन देशभर नै भएकोले सेवा प्रवाह हुन नसकेको गाउँपालिकाका सूचना अधिकारी शिवेन्द्र ठाकुर बताउँछन् । ‘यहाँ मात्रै होइन, देशभरका कर्मचारी आन्दोलित छन्, त्यही भएर काम हुन नसकेको हो,’ ठाकुरले भने ।
झापाको बुद्धशान्ति गाउँपालिकामा दशैंको अवसरमा गाउँमा आएका नवदम्पत्तिहरु विवाह दर्ता गर्न वडा कार्यालय पुग्ने गरेका छन् । तर, दर्ताको काम नै रोकिएको छ । स्थानीय सेवामा रहेका सबै कर्मचारीहरु आन्दोलनमा होमिएपछि वडाबाट हुनपर्ने सिफारिस हुन नसकेको हो ।
चाडपर्वमा घर गएको बेला घटना दर्ता, सिफारिसको बेला धेरै सेवाग्राही आउने भएपनि काम भने हुन नसकेको १ नम्बर वडाध्यक्षसमेत रहेका गाउँपालिकाका प्रवक्ता अनिल वाग्ले बताउँछन् ।
यस्तो दुःख अहिले देशभरका स्थानीय तहमा सेवाग्राहीले पाइरहेका छन् । बाराको जीतपुर सिमरा उपमहानगरपालिकाका मात्रै २४ जना कर्मचारी काठमाडौंको माइतीघर मण्डलमा आएर आन्दोलन गरिरहेका छन् ।
सामाजिक सुरक्षा भत्ता सम्बन्धी काम गर्ने स्थानीय सेवाका कर्मचारी आन्दोलित हुँदा केही पालिकामा समस्या नभएपनि अधिकांश पालिकामा भत्ता वितरणमा समस्या छ ।