काठमाडौं ।
दसैँलगायत चाडपर्वका लागि सशस्त्र प्रहरी बलका २९ हजार जनशक्तिले सीमा नाकालगायत क्षेत्रमा सुरक्षा दिन थालेका छन् । ‘चाडपर्व विशेष सुरक्षा योजना’ तयार पारी लागू गर्दै यसपाली चाडपर्वका समयमा २९ हजार जनशक्ति परिचालन गरी निगरानी थालिएको सशस्त्र प्रहरीका प्रवक्ता तथा वरिष्ठ प्रहरी उपरीक्षक राजेन्द्र खड्काले जानकारी दिए ।
यसपालीको चाडपर्वको समयमा सीमावर्ती इलाका तथा अन्य स्थानमा नागरिकको सेवा, सुरक्षा र उद्धारको सुरक्षा योजनाअन्तर्गत आजैदेखि सशस्त्र प्रहरी परिचालित भएका छन् ।
झापाको पूर्वी नाकास्थित काँकडभिट्टाको मेची पुल इलाकामा अवैध हातहतियार, विष्फोटक पदार्थ र लागुऔषध पहिचाहन गर्नसक्ने तालिम प्राप्त कुकुरसमेत परिचालन गरिएको जनाइएको छ ।
दसैं, तिहार, छठ तथा अन्य चाडपर्वमामा हुनसक्ने आपराधिक क्रियाकलाप रोकथाम एवं नियन्त्रण गर्न सशस्त्र प्रहरीको गस्ती, पट्रोल, चेक प्वाइन्टमा खटिनुका साथै मुख्य राजमार्गमा हुनसक्ने घटनालगायत दुर्घटना न्यूनीकरण तथा दुर्घटना भएमा समयमै उद्वार गर्न ५३ स्थानमा एम्बुलेन्ससहितको आइआरटी टोली परिचालित हुने सशस्त्र प्रहरीले जनाएको छ ।
प्राकृतिक तथा मानवसिर्जित विपद्को अवस्थामा तत्काल परिचालन हुनसक्ने गरी सशस्त्र प्रहरीले धनकुटाको मूलघाट, बाराको निजगढ, धादिङको आदमघाट, म्याग्दीको बेनी, दाङको भालुवाङ, सुर्खेतको चिप्ले, डडेलधुराको अमरगढी र सिन्धुलीको खुर्कोट गरी आठ ठाउँमा स्थापना गरिएको विपद् व्यवस्थापन बेसमा आवश्यक स्रोत साधनसहित तालिम प्राप्त जनशक्ति तयारी हालतमा राखिएको जनाइएको छ ।
स्वास्थ्यकर्मीसहित सुविधा सम्पन्न आठ वटा एम्बुलेन्स र ठूलो दुर्घटना घटेको समयमा एकैपटक घाइतेलाई अस्पतालसम्म लैजान सकिने गरी मास क्याजुअल्टी भेइकल (एमसीबी)समेत सातै प्रदेश र उपत्यकामा तयारी हालतमा राखिएको छ ।
सोे योजनाअन्तर्गत पाँच सय ६३ स्थानमा पैदल गस्ती, तीन सय ६६ स्थानमा मोबाइल गस्ती, ३७ स्थानमा एलआरपी ९लामो दूरीको गस्ती०, दुई सय नौ स्थानमा क्युआरटी र तीन सय ७३ स्थानमा चेकप्वाइन्ट तथा पिकेट ड््यूटीमा सशस्त्र प्रहरी कर्मचारी तैनाथ गरिएको छ ।
उक्त ड्यूटीको अनुगमन सशस्त्र प्रहरी प्रधान कार्यालयबाट हुनेछ भने राजधानी लक्षित सुरक्षा योजनाको संवेदनशीलतालाई मध्यनजर गर्दै उपत्यकाका विभिन्न स्थानमा पाँचवटा अनुगमन टोलीसमेत परिचालन हुने योजना रहेको छ ।
-रासस








