गृहपृष्ठ Featured दसैंमा घर फर्किनेहरू बढे

दसैंमा घर फर्किनेहरू बढे

प्रकाशित मिति:

काठमाडौँ  ।

दसैं सुरु भएसँगै बसपार्क र काउन्टरहरूमा घर जाने यात्रुको भीड बढ्न थालेको छ । विद्यालय र कलेज बन्द हुन थालेको र कतिपय अफिसले छिट्टै बिदा दिन थालेपछि बसपार्कमा घर जानेको चाप बढेको हो ।

यति बेला गोंगबुस्थित नयाँ बसपार्कमा बढी चहलपहल छ, जहाँ बिहान र साँझमा घर जाने यात्रुको भीड बढ्ने गरेको छ ।

गत असोज २२ बाट अग्रिम टिकट बुकिङ खुला भएको हो । त्यसयता मात्र १ लाख २९ हजार यात्रु बसपार्कबाट बाहिरिएको नयाँ बसपार्क सञ्चालन गर्दै आएको ल्होत्से बहुउद्देश्यीय प्रालिका प्रवक्ता पंकज मल्लले जनाए । ‘यो माइक्रो र यात्रुवाहक बसमा टिकट काटेर जाने यात्रुको संख्या हो,’ उनले भने, ‘अहिले बसपार्कमा दैनिक दसैंका लागि घर जाने यात्रुको चाप छ ।’ उनका अनुसार फूलपाती र अष्टमीका लागि टिकट बुकिङ गर्न आउने यात्रुको खचाखच उस्तै छ ।

सुदूरपश्चिमको धनगढी, महेन्द्रनगरलगायत जिल्ला जाने यात्रुले भने सहजै टिकट पाउन नसकेको गुनासो गर्दै आएका छन् । अहिले पनि बसपार्कमा जाँदा टिकट छैन भन्ने जवाफ आउने गरेको गुनासो यात्रुको छ । यता पूर्वी जिल्ला जाने सुमो, माइक्रो बसले मनपरी भाडा उठाएको यात्रुहरूको दुखेसो छ । विशेषगरी सुमो–जिपहरूले टिकटमा थोरै भाडा लेखेर यात्रुसँग भने दोब्बर भाडा उठाइरहेका छन् । सरकारी निकाय र यातायात व्यवसायीका संस्थाले भने बढी भाडा लिएको गुनासो यात्रुबाट नआएको दाबी गर्छन् ।

सम्बन्धित् समाचार