३४ अर्ब रुपैयाँ लागतमा बुटवल-गोरुसिंगे-चन्द्रौटा सडक बिस्तार हुँदैछ । त्यसका लागि पूर्व सर्वेक्षणसहित ठेक्का प्रक्रिया अगाडि बढाइएको बुटवल गोरुसिंगे चन्द्रौटा सडक निर्माण परियोजनाका लेखा प्रमुख राजेन्द्रप्रसाद आचार्यले बताए ।
पूर्व-पश्चिम राजमार्ग अन्तर्गत रुपन्देहीको बुटवलदेखि कपिलवस्तुको चन्द्रौटासम्मको ६९ किलोमिटर सडक क्षेत्र छ । उक्त २ लेनको सडक अब ४ लेनको बन्ने छ । सडक बिस्तारमा विश्व बैंकले २७ करोड ५० लाख अमेरिकी डलर उपलब्ध गराउने छ ।
ठेक्का प्रक्रियाका लागि सडक क्षेत्रका काट्नुपर्ने रुख, भत्काउनु पर्ने घर तथा संरचना, सार्नुपर्ने बिजुली तथा टेलिफोन तारका अभिलेख निकालेर विश्व बैंकको कार्यान्वयन निकायमा पठाएको छ। प्रस्ताव स्वीकृत भएर आएपछि ठेक्का खोल्ने लेखा प्रमुख आचार्यले बताए । सडक निर्माणको भौतिक काम २०२३ नोभेम्बरमा सुरु भएर २०२६ नोभेम्बरमा सक्ने लक्ष्य छ ।
पहिलो चरणमा बुटवलदेखि कपिलवस्तुको गोरुसिंगेसम्मको ५० किलोमिटरमा काम हुनेछ । जसको ४ वर्षअघि एसियाली विकास बैंकको सहयोगमा डिजाइन गरिएको थियो । उक्त डिजाइन कार्यान्वयन गर्न गर्नुपर्ने काम र लगानीसहितको विवरण निकालिएको छ ।
क्षतिपूर्तिसहित निश्चित मापदण्ड पुर्याएर त्यसको व्यवस्थापन गर्ने मन्त्रिपरिषद्ले निर्णय गरिसकेको छ । उक्त निर्णयअनुसार काम अगाडि बढाउन सडक डिभिजन कार्यालय शिवपुरले जिम्मा पाएको छ ।