गृहपृष्ठ Featured उत्कृष्ट लयमा दीपेन्द्र सिंह ऐरी

उत्कृष्ट लयमा दीपेन्द्र सिंह ऐरी

प्रकाशित मिति:

काठमाडौं‌ ।

दीपेन्द्र सिंह ऐरीले क्रिकेटका हस्तीहरूको विश्व कीर्तमान तोडेको धेरै भएको छैन । गत महिना चीनमा भएको १९औं एसियाडमा ९ बलमा अर्धशतक प्रहार गर्दै ऐरीले भारतका युवराज सिंहको कीर्तिमान तोडेका थिए। मंगोलियाविरुद्धको खेलमा उनले १० बलमा अविजित ५२ रन बनाएका थिए।

नेपालमा जारी त्रिकोणात्मक टी-२० आई सिरिजमा उनले आफूलाई सक्षम अलराउन्डर भएको प्रमाणित गरेका छन्। समग्रमा भन्नुपर्दा उनी नेपाली टिमका लागि ‘फिनिसर’को भूमिका निर्वाह गर्दै आएका छन्। टिमलाई महत्वपूर्ण रन वा विकेट चाहिरहरेका बेला उनले आफूलाई अब्बल सावित गर्दै आएका छन्।

मुलपानीमा सिरिजको चौथो खेलमा युएईले १६५ रनको प्रतिस्पर्धात्मक लक्ष्य प्रस्तुत गरेको थियो। आसिफ शेख र कप्तान रोहित पौडेलले नेपालको इनिङ सम्हाले पनि दीपेन्द्रले आक्रामक ब्याटिङ गरेपछि नेपालले लगातार चौथो विजयी हासिल गर्‍यो। ऐरीले १५ बलमा अविजित ४० रन बनाएर टिमका लागि ‘फिनिसर’को भूमिका निर्वाह गरे। ४० रन बनाउँदा उनले ६ चौका र एक छक्का प्रहार गरे।

दीपेन्द्रले टी-२०आई सिरिजमा आफ्नो भूमिका नै पछाडि बसेर टिमलाई जिताउने रहेको बताए। खेलपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले क्रिजमा आउँदा मानसिक रूपमा तयार भएर आउने गरेको बताए। उनले टिमलाई जिताउन कति बलमा कति रन आवश्यक पर्छ भन्ने कुरा गनेर आउने गरेको बताए। ‘टी-२० मा मेरो रोल नै पछाडि बसेर जिताउने भन्ने छ। कति बलमा कति रन छ त्यो क्यालकुलेट गरेर खेल्छु। यो बलमा कता रन बनाउन सक्छु र यो विकेटमा कता रन बन्छ, त्योचाहिँ मानसिकरूपले तयार भएर आउँछु,’ उनले भने।

कम बलमा धेरै रन चाहिएकाले नै आफूले आक्रामण खेल्नुपरेको उनले प्रस्ट्याए। ‘कम बलमा बढी रन चाहिरहेको थियो। विकेट हाम्रो हातमा थियो। आउनेवितिकै मैले पोजिटिभ खेले। लाग्न पनि थाल्यो। लागेपछि हामी जित्यौं,’ उनले भने।

टी-२० विश्वकपमा क्वालिफाइ नै नेपालको प्रमुख लक्ष्य रहेको उनको भनाइ छ। एसोसियटमा नेपालको प्रदर्शन पछिल्लो समय राम्रो रहेको भन्दै क्वालिफाइ हुने सम्भावना पनि प्रवल रहेको उनले बताए। ‘विश्वकपमा क्वालिफाइ हुने यो हाम्रो लागि ठूलो अवसर हो। एसोसियट सबै एउटै लेभलका छन्। पछिल्लो समय हाम्रो प्रदर्शन पनि राम्रो छ,’ उनले भने। नेपालले अक्टुबर ३० देखि होमग्राउन्डमै टी-२० विश्वकप क्वालिफाइ खेल्दैछ।

पछिल्लो तीन-चार महिनादेखि नेपाली टिमले एकदमै राम्रो खेलिरहेको उनले बताए। यसबीचमा राम्रा टिमसँग खेल्न पाएर पनि उच्च फर्ममा रहेको उनको भनाइ छ। रोयल राजस्थान एकेडेमीमा प्रशिक्षण पाएर झनै तिखारिएको उनले अनुभव सुनाए। ‘त्यहाँ राम्रो प्रशिक्षण लिने अवसर पायौं। त्यसकै परिणाम आज यो सफलता हात परिरहेको छ,’ उनले भने।

दीपेन्द्र लामो समयपछि टिममा फर्किएका थिए। त्यसबारे सोधिएको प्रश्नमा उनले आफूले अथक मेहनत गरेको बताए। पछाडि बसेर निरन्तर अभ्यास गरेको उनको भनाइ छ। ‘पछिल्लो समय मेरो प्रदर्शन राम्रो भइरहेको थिएन। आफूलाई पछाडि राखेर प्रयाक्टिस गरिरहेको थिएँ। कोच र कप्तानले पनि मलाई सपोर्ट गरिरहेका छन्। मलाई लाग्दैन म आउट अफ फर्ममा छु। खेल्दै जाँदा कहिलेकाहीँ भइहाल्दो रहेछ। तर मलाई लागिरहेको थियो म छिट्टै फर्ममा आइहाल्छु,’ उनले भने।

त्रिकोणात्मक सिरिजको चार खेलमा दीपेन्द्रले ७२ बलमा १३१ रन बनाएका छन्। उनले प्रतियोगितामा व्यक्तिगत १५ चौका र ४ छक्का प्रहार गरेका छन्। टी-२० आईमा पनि दीपेन्‍द्रले राम्रो रन बनाएका छन्। उनले एक शतक र ७ अर्धशतकसहित १३ सय बढी रन बनाइसकेका छन्।

सरिजको पहिलो खेलमा युएईले नेपाललाई १४० रनको लक्ष्य दिएको थियो। पाँचौं विकेटका लागि आएका दीपेन्द्रले अविजित ३४ रन खेलेर नेपाललाई सफलता दिलाएका थिए। दीपेन्द्रले २३ बलमा ३ चौका र एक छक्का प्रहार गरेका थिए। उक्त खेलमा कप्तान रोहित पौडेलले अर्धशतकसहित ५१ रन बनाएका थिए।

दोस्रो खेलमा हङकङलाई नेपालले ९४ रनमै अलआउट गरेको थियो। त्यस खेलमा दीपेन्द्रले ब्याटिङ गरेनन्। त्यस खेलमा चौथो विकेटमा सुन्दीप जोरालाई मौका दिएर पाँचौं विकेटका लागि कप्तान रोहित क्रिजमा आएका थिए।

हङकङसँगकै दोस्रो खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ गरेको थियो। दीपेन्द्रले कुशल मल्लसँग शानदार पारी खेलेर नेपाललाई २१३ रनको विशाल रन खडा गर्न सफल भएका थिए। कुशल ९२ रनमा पेभेलियन फर्किँदा दीपेन्द्र ५७ रन बनाएर आउट भए। दीपेन्द्रले ३४ बलमा ६ चौका र २ छक्का प्रशार गरेका थिए।

सम्बन्धित् समाचार