गृहपृष्ठ Featured नारायणी नदीमा पुनः मोटरबोट सञ्चालन

नारायणी नदीमा पुनः मोटरबोट सञ्चालन

प्रकाशित मिति:

भरतपुर ।

वर्षा सकिएपछि नारायणी नदीमा मोटरबोट सञ्चालन हुन थालेका छन् । बर्खायाममा पानीको बहाव बढेपछि रोकिएका मोटरबोट चाडपर्वसँगै सञ्चालनमा आएका हुन् ।

असार, साउन र भदौ महिनामा नदीमा बाढी आउने भएकाले मोटरबोट बन्द हुन्छ । यस वर्ष असोज महिनामा पनि नदीमा पानीको बहाव नघटेकाले अन्तिम सातादेखि दसैँको अवसर पारेर मोटरबोट सञ्चालन गरिएको नारायणी मोटरबोट व्यवसायी सङ्घका अध्यक्ष अशेष मल्लले बताए ।

पछिल्लो समय नारायणी नदीमा मोटरबोट चढेर मनोरञ्जन लिने आन्तरिक पर्यटकको भीड नै लाग्न थालेको छ । यस वर्ष मनसुनका कारण नदीमा असोज अन्तिम सातासम्म बाढी आएकाले मोटरबोट सञ्चालनमा ढिलाइ भएको र अब जेठसम्म नियमित मोटरबोट सञ्चालन हुने उनको भनाइ थियो ।

बिदाका दिन मोटरबोट चढ्न आउनेको सङ्ख्या उल्लेख्य हुने गरेको छ । ‘अहिले दैनिक दुई हजारको हाराहारीमा मोटरबोट चढ्न नारायणी नदी किनारमा पर्यटक आउने गरेका छन्’, अध्यक्ष मल्लले भने, ‘दसैँ र तिहारको समयमा उल्लेख्य मात्रामा पर्यटक यहाँ मनोरञ्जन लिन आउने गर्छन् ।’

सम्बन्धित् समाचार