काठमाडौं ।
बुहारीले सासुलाई कलेजो दिएर नयाँ जीवन दिएकी छन्। असोज २६ गते ६२ वर्षीया सासूलाई उनकी ३७ वर्षीया बुहारीले कलेजो दान दिएकी थिइन्।
रामेछापकी एक बुहारीले आमा समान सासूलाई कलेजो दिएर जीवनदान दिएकी हुन्। ३७ वर्षीया बुहारी माया शेर्पाले कलेजो दान दिएपछि ६२ वर्षीया सासू लाक्पा शेर्पाले नयाँ जीवन पाएकी हुन्।
भक्तपुरको सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कलेजो प्रत्यारोपण भएको १२ औं दिनमै निको भएर लाक्पा शेर्पा डिस्चार्ज भइन्। रामेछाप घर भइ काठमाडौंको बौद्ध बस्दै आएकी ६२ वर्षीया लाक्पाको कलेजो प्रत्यारोपण गर्न चिकित्सकले सुझाव दिएपछि परिवारमा सन्नाटा छायो। तर पारिवारिक सल्लाह भइरहेका बेला सासु लाक्पालाई ३७ वर्षीया बुहारी माया शेर्पाले कलेजो दिने निर्णय गरिन्।
असोज २५ गते बिहीबार बिरामी लाक्पा र कलेजो दान गर्ने बुहारी माया भक्तपुरको सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा भर्ना भए। भोलिपल्ट मायाले बिरामी सासूलाई आफ्नो कलेज दान गरिन् भने चिकित्सकको टोलीले सफल प्रत्यारोपण गर्यो। केन्द्रका प्रमुख डाक्टर पुकारचन्द्र श्रेष्ठको नेतृत्वमा ३० सदस्यीय टोलीले कलेजको सफल प्रत्यारोपण गरेको थियो।