वैखरी अनलाईन, बाणगंगा ।
कपिलवस्तुको बाणगंगा नगरपालिका- ९ चौवाका स्थानीयहरुले आफै स्वतःस्फुर्त रुपले छाडापशु चौपयाहरुको व्यवस्थापन गरिहेको बताएका छन् । करिब २ बर्षदेखि किसानहरुको धानबालीमा हुने क्षतिलाई रोक्ने उद्देश्यसहित छाडापशु चौपयाहरुको व्यवस्थापन गरिहेको स्थानीयको भनाई छ । छाडापशु चौपया व्यवस्थापनमा शावश्यक तारबार, घाँस, पराल, हेरालुलाई पारिश्रमिक लगायतको व्यवस्थापन गर्नको लागी स्थानीयहरुको सहमतिमै आफु सक्दो सहयोग उठाउने सर्वसम्मत रुपमा निर्णय भएको उनीहरुले बताए ।
छाडापशु चौपयाहरुको व्यवस्थापनको नाममा वडाध्यक्ष कमल पौडेलले चन्दा उठाएको भन्दै सामाजिक संजालमा आएपछि स्थानीयहरुले यस्तो बताएका हुन् । चौवाह टोल विकास संस्थाकी अध्यक्ष पुजा पाण्डेले स्थानीयले लगाएको बालीनाली पुरै छाडा गाईवस्तुले सखाप पारेपछि त्यसको नियन्त्रणका लागि गौशाला बनाइएको बताईन् ।
उनले गौशाला बनाउने काममा वडा र नगरसँग कुनै सम्बन्ध नरहेको समेत प्रष्ट पारिन् । उनले गौशाला टोल विकास संस्थाले आफ्नै पहलमा आन्तरिक भेलाबाट निर्णय गरेर बनाएको बताईन् ।
यता वडाध्यक्ष पौडेलले सामाजिक सञ्जालमा भ्रमित कुराहरु सार्वजनिक गरिएको भन्दै त्यसको खण्डन गरे । भलवाडस्थित गौशाला निर्माण र त्यसँग वडा अध्यक्षले चन्दा उठाएको भन्दै सामाजिक सञ्जालमा लेखिएका विषयवस्तुबारे प्रष्ट पार्न आयोजित टोल भेलामा वडा अध्यक्ष पौडेलले त्यसको खण्डन गरेका हुन् ।
वडाध्यक्ष पौडेलले आफुलाई बदनाम गराएर चरित्र हत्या गर्ने प्रयासस्वरुप सामाजिक संजालमा लेखिएको भन्दै आफ्नो वडामा गौशाला निर्माणका लागि कुनै चन्दा असुली नभएको प्रष्ट पारे । चौवाह टोलका स्थानीयहरुले आफ्नै प्रयासमा अस्थाई गौशाला बनाई सोही स्थानमा छाडा गाईगोरु व्यवस्थापन गर्दै आएको उनले उल्लेख गरे ।
उनका अनुसार हाल उक्त स्थानको तारबार र नियमित हेरचाहका लागि स्थानीयले स्वतस्फूर्त केही रकम संकलन गरेका छन् । यही विषयलाई चन्दाको नाम दिएर चरित्र हत्या गर्ने काम भएको भन्दै वडा अध्यक्ष पौडेलले खेद व्यक्त गरे ।
टोल विकास सँंस्थाका पूर्व अध्यक्ष तथा नमुना सामुदायिक वनका अध्यक्ष हुमलाल पौडेलले वडा नम्बर ९ को चौवाह टोल र वडा नम्बर ७ को मोतिपुर टोलका स्थानीयले आफ्नै पहलमा गौशाला बनाएको बताए । उनले गौशालामा गाईको घाँसपानी व्यवस्थापन गर्न हुने खर्च व्यवस्थापनका लागि स्वतस्फुर्त रुपमा केही व्यक्तिले सहयोग रकम जम्मा गरेको बताए ।