रुपन्देही ।
लुम्बिनी प्रदेशमा पहिलो पटक आयुर्वेद अस्पताल तथा स्वास्थ्य संस्थाको न्युनतम सेवा मापदण्ड कार्यान्वयन हुने भएको छ ।
प्रदेशका २ अस्पताल १२ स्वास्थ्य संस्थाका प्रमुख तथा मेसुलाई बुटवलमा दुई दिनसम्म न्युनतम सेवा मापदण्ड कार्यान्वयनको लागि अनुशिक्षण गरिएको छ । यो कार्यक्रमले यसरी चलाइएका स्वास्थ्य संस्थामा न्युनतम मापदण्ड तयका लागि आधारहरु तय गर्नेछ ।
संघीयता कार्यान्यवनपछि लुम्बिनीमा आयुर्वेद क्षेत्रमा पहिलो पटक यस खालको कार्यक्रम सुरु भएको स्वास्थ्य निर्देशनालय लुम्बिनीमा एमएसएम फोकल पर्सन कौशल भण्डारीले बताए । उनले भने–अरु प्रदेशमा सुरु भएको थियो तर यहाँ यस पटकबाट आयुर्वेदमा पनि न्युनतम सेवा मापदण्ड कार्यान्वयन कार्यक्रम सुरु गरिएको छ ।
यो कार्यक्रम सुरु भएपछि आयुर्वेद अस्पतालको अवस्था अस्पतालबाट सेवा लिने सेवाग्राहीहरुको सन्तुष्टि अस्पतालमा थप गर्नुपर्ने सेवा लगायतका विषयमा जानकारी हुने उनले बताए । उनले प्रदेश सरकारले नीति तथा कार्यक्रमअन्तर्गतका यो कार्यक्रम समावेश भएको र बजेट पनि गतवर्षभन्दा बढी बिनियोजन भएको समेत जनाए ।








