काठमाडौं ।
भारतीय राजदूतावास काठमाडौंले शुक्रबार नेपाल राष्ट्रिय क्रिकेट टिमलाई २० वटा क्रिकेट ब्याटसहितका सामग्री हस्तान्तरण गरेको छ ।
कप्तान रोहित पौडेल नेतृत्वको नेपाल राष्ट्रिय क्रिकेट टोली र नेपाल क्रिकेट संघका कार्यकारी सदस्यहरुलाई दूतावासमा स्वागत गर्दै नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले नेपाल क्रिकेट संघका अध्यक्ष चतुर बहादुर चन्द र संघका सचिव पारस खड्काको उपस्थितिमा नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेललाई सामग्री हस्तान्तरण गरेका हुन् ।
ती सामाग्री बी.पी. कोइराला भारत–नेपाल फाउन्डेशन र भारत सरकारको स्वामित्व रहेको सतलज जलविद्युत निगमका तर्फबाट भारतीय दूतावासले प्रदान गरेको हो । नेपाली क्रिकेट टोलीले पनि भारतीय राजदूत श्रीवास्तवलाई टोलीले हस्ताक्षर गरेको जर्सी उपहारस्वरुप प्रदान गरेको थियो ।
राजदूत श्रीवास्तवले हालै सम्पन्न एसिया कप र एसियाली खेलकुदमा नेपाली क्रिकेट टोलीको बेजोड प्रदर्शनको प्रशंसा गरेका थिए ।
उनले आगामी त्रिदेशीय टी–२० कप फाइनल र यसै महिनाको अन्त्यबाट सुरु हुने आइसीसी टी–२० विश्वकप छनोटका लागि क्रिकेट टोलीलाई शुभकामना दिएका थिए ।