काठमाडौं ।
जुवाखालबाट ४६ जना जुवाडे पक्राउ परेका छन्।
काठमाडौं महानगरपालिका-२६ सामाखुसी टाउन प्लानिङ बस्ने अप्सरा मल्लको घरमा जुवातास खेलिरहेको अवस्थामा म्याग्दी घोरेपानी घर भई हाल काठमाडौं बुढानिलकण्ठ नगरपालिका नारायणथान बस्ने २६ वर्षीया यम कुमारी पुन समेत ८ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ। प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद १ लाख ९९ हजार रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो।
यसैगरी काठमाडौं, तारकेश्वर नगरपालिका-८ जरङ्खु बस्ने नुवाकोट किस्पाङ्ग गाउँपालिका-२ घर भएका ३९ वर्षीय पूर्ण बहादुर रानाको खाजा घरभित्र जुवातास खेलिरहेको अवस्थामा राना समेत ८ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। जुवा खेलिरहेको भन्ने सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद १९ हजार ५ सय रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो।
बाँके, कोहलपुर नगरपालिका-३ मदनचोक बस्ने बिष्णु खरेलको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-४ बस्ने ४१ वर्षीय दिपक कुमार ढकाल समेत ५ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद ३५ हजार ९ सय ५५ रूपैयाँ र २५ गड्डी ताससहित पक्राउ गरेको हो।
धादिङ, निलकण्ठ नगरपालिका-३ एमाले चोक नजिक बस्ने आशिष श्रेष्ठको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३८ वर्षीय ईश्वर खतिवडा समेत ६ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय धादिङबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद ४२ हजार ८ सय २५ रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो।
तेह्रथुम, लालिगुँरास नगरपालिका-२ प्रगती टोल बस्ने ३८ वर्षीय बीर बहादुर गुरूङको घरमा जुवातास खेलिरहेको अवस्थामा गुरूङ समेत १२ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय बसन्तपुरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद ९५ हजार रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो।
कञ्चनपुर, बेलौरी नगरपालिका-७ फगतपुरस्थित राजु चौधरीको नास्ता पसलमा जुवातास खेलिरहेको अवस्थामा चौधरी समेत ७ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद ११ हजार ५ सय ८० रूपैयाँ र १ बुक ताससहित पक्राउ गरेको हो।
सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।