गृहपृष्ठ Featured सामाजिक संघ, संस्थालाई बाल सुधारगृह सञ्चालन गर्न दिन्नौँः मन्त्री आचार्य

सामाजिक संघ, संस्थालाई बाल सुधारगृह सञ्चालन गर्न दिन्नौँः मन्त्री आचार्य

प्रकाशित मिति:

काठमाडौँ,

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले सामाजिक संघ, संस्थालाई बाल सुधारगृह सञ्चालन गर्न नदिने बताएका छन्।

मंगलवार प्रतिनिधिसभा अन्तर्गतको कानून, न्याय तथा मानवअधिकार समितिको बैठकमा बोल्दै उनले उक्त कुरा बताएका हुन्। बाल सुधारगृहको व्यवस्था नभएका वेला सामाजिक संघ, संस्थाले बाल सुधारगृह सञ्चालनका लागि जिम्मेवारी पाए पनि अब भने आफैँले सबै बाल सुधारगृह सञ्चालन गरेर अघि बढाउने कुरामा सरकार गम्भीर रहेको मन्त्री आचार्यको भनाइ थियो।

उनले लागुऔषधमा फसेका र १८ वर्षभन्दा माथिकालाई बाल सुधारगृहमा नभई छुट्टै व्यवस्था गर्ने सोच पनि सरकारले अघि सारेको बताए। १८ वर्षभन्दा माथि उमेर समूहका पनि बाल सुधारगृहमा राख्दा त्यसले त्यहाँ विकृति भित्र्याएकाले त्यसो हुन नदिन पनि आफूले उनीहरूलाई छुट्टै राख्ने व्यवस्था गर्न लागिएको मन्त्री आचार्यले बताए।

उनले बाल सुधार गृहका बालबालिकाहरूको शिक्षा, स्वास्थ्य र ज्ञान/सीपको आवश्यक व्यवस्था मिलाउन पनि सम्बन्धित मन्त्रालयसँग आग्रह गरे।

मन्त्री आचार्यले भने, ‘बाल सुधारगृहहरू छन्। त्यो सरकारले नै सञ्चालन गर्नुपर्छ भनेर अहिले मन्त्रालय त्यसमा पनि लागि परेको छ।’

मन्त्री आचार्यले सुधारगृहमा रहेका बालबालिकाहरूलाई समाजमा फर्केपछि पनि आत्मनिर्भर हुनेगरी शिक्षा, स्वास्थ्य र स्वरोजगारीको अवसर सृजना हुने गरी आवश्यक व्यवस्था मिलाउन पनि आफूले पहल गरिरहेको बताए।

सम्बन्धित् समाचार