इजरायल र प्यालेस्टिनी विद्रोही समूह हमासबीच चलिरहेको युद्धको चपेटामा नेपाली विद्यार्थी पनि परेका छन् ।
इजरायलको दक्षिणी क्षेत्रमा हमासले बमबारी र गोली चलाउँदा १० नेपाली विद्यार्थीको ज्यान गएको थियो, त्यति बेलैदेखि बेपत्ता रहेका एक विद्यार्थी विपिन जोशी अहिले हमासको नियन्त्रणमा रहेको पुष्टि भएको छ ।
सुदूरपश्चिम विश्वविद्यालयमा कृषि विज्ञान संकायअन्तर्गत स्नातक तह आठौं सेमेस्टरमा अध्ययनरत उनीहरू सिक्दै कमाउने कार्यक्रमअन्तर्गत भदौ अन्तिम साता मात्र इजरायल पुगेका थिए । इजरायली सेना र हमासबीच निरन्तर युद्ध भइरहेको र यो क्रम कहिलेसम्म चल्ने निश्चित नभएको अवस्थामा विपिनलाई सकुशल मुक्त गरेर स्वदेश फर्काउन सरकारको प्रभावकारी कूटनीतिक पहल चाहिएको छ ।
हमास लडाकुले अक्टोबर ७ (असोज २०) का दिन एकसाथ सयौं रकेट प्रहार गर्नुका साथै आकाश र जमिनबाट इजरायली क्षेत्रमा प्रवेश गरेर अन्धाधुन्ध आक्रमण गरेका थिए । त्यस क्रममा हमासले १ सय १८ इजरायली र १ सय २२ विदेशी नागरिकलाई बन्धक बनाएर लगेको इजरायलको प्रधानमन्त्री कार्यालयको तथ्यांक छ । त्यसमध्येमा एक विपिन पनि हुन् । विपिन उनै हुन्, जसले हमासले नेपाली विद्यार्थीको समूहतिर प्रहार गरेको ग्रिनेड टिपेर फ्याँकिदिएका थिए । साथीहरूको ज्यान जोगाइदिएका विपिन भने त्यसपछि बेपत्ता थिए ।
इजरायल सरकारले उनी हमासको नियन्त्रणमा रहेको पुष्टि त गरेको छ तर उनलाई कहाँ कुन अवस्थामा राखिएको छ भन्ने विषयमा केही खुलेको छैन । युद्धसँग कहीँकतै सम्बन्ध नजोडिएको मुलुकको विद्यार्थीलाई यसरी बन्धक बनाइनु निन्दनीय छ ।
इजरायली सेनाले हमासलाई नै सिध्याउने भन्दै गाजा क्षेत्रमा आक्रमण तीव्र पारिरहेकाले बन्धक बनाइएका अरू नागरिकको सुरक्षाबारे चिन्ता झन्–झन् बढ्दै गएको छ ।