गृहपृष्ठ Featured गुल्मीमा १५ वर्षीया किशोरीको शव खोलामा डुबेको अवस्थामा फेला

गुल्मीमा १५ वर्षीया किशोरीको शव खोलामा डुबेको अवस्थामा फेला

बुटवल ।

गुल्मीको चन्द्रकोट गाउँपालिका–४ शान्तिपुरमा एक किशोरीको शव फेला परेको छ । बिहीबार दिउँसोदेखि हराईरहेकी १५ वर्षीया मनीषा रुचाल हुग्दी खोलामा शुक्रबार बिहान डुबेको अवस्थामा फेला परेकी हुन् ।

चन्द्रकोट इलाका प्रहरी कार्यालयका प्रमुख रामविलास यादवले किशोरीको शव हुग्दी खोलाको पानीमा डुबिरहेको अवस्थामा फेला परेको बताए । ‘हिजोदेखि हराइरहेको र बिहान खोलामा पानीमा उत्तानो परेको अवस्थामा फेला परेको छ,’ उनले भने, ‘केही शंकास्पद पनि देखिएकाले थप अनुसन्धानका लागि जिल्लाबाटै टोली आउँदै छ ।’

किशोरी स्थानीय उदय माविमा कक्षा ९ मा अध्ययनरत थिइन् । बिहीबार खेतमा आमासँगै धान काटिरहेको र ११ बजे तिर खेतालाले सुर्ती किन्न पठाएपछि नजिकैको बजारमा गएकी थिइन् ।

सुर्ती किनेर फर्केकी उनी त्यसलगत्तै बेपत्ता भएको र बिहान शव भेटिएको हो ।

सम्बन्धित् समाचार