वैखरी अनलाईन, बाणगंगा ।
कपिलवस्तुको बुद्धभूमि नगरपालिका- २ गोरुसिंगेमा खानेपानीको पाईप विछ्याउने काम अलपत्रमा परेको छ । गोरुसिंगे बजार क्षेत्रमा एउटा गिरोहको निहित स्वार्थका कारण खानेपानीको पाईप विछ्याउने काम अलपत्रमा परेको हो ।
कर्ण बहादुर महरा, देवी बेल्वासे, बासुदेव पोख्रेल, मुकुन्द पौडेल लगायतको एक गिरोह नै पाईप विछ्याउने नदिने अभियानमा लागेको एक स्थानीयले नाम नखुलाउने सर्तमा बताए । उनीहरुले नगर प्रमुखसंगै वडाध्यक्षलाई असफल बनाउन यस्ता गतिविधि गरेको उनको आरोप छ ।
यता गोरुसिंगे सहरी खानेपानी सरसफाई तथा उपभोक्ता समितिका अध्यक्ष नरेन्द्रराज टण्डनले नालीको भित्री भागबाट पाईप विछ्याउनुपर्ने भए पनि उनीहरुले विछ्याउन नदिई क्षतिपुर्तिको माग गरेको वैखरीलाई बताए ।
उनले करिब ८० प्रतिशत काम सम्पन्न भईसकेको अवस्थामा यस्तो अवरोधले पाईप विछ्याउने काम अलपत्र परेको बताए । यसलाई सहमतिकै आधारमा निष्कर्ष निकाली अघि बढ्ने तयारी रहेको उनले बताए । उक्त खानेपानी योजना सम्पन्न भएपछि करिब २ हजार घरपरिवार लाभान्वित हुने छन् ।
२०७८ फागुनको ४ गते उक्त खानेपानी योजना १८ महिनाभित्र सम्पन्न गर्ने गरि सम्झौता भएको थियो । तर उक्त समयावधिमा काम सम्पन्न नभएपछि पुनःसाढे ४ महिना थप गरिएको हो ।
करिब २० करोडको लागतमा भईरहेको खानेपानी योजनाको यो काम पुस मसान्तसम्म सक्नुपर्ने छ । तर यो कामलाई अलपत्र बनाउने खेलमा एक गिरोह नै सक्रिय हुँदा स्थानीयमा निराशा छाएको छ । ओभरहेड ट्याङ्कीको पुर्ण क्षमता साढे ४ लाखको हो ।