वैखरी अनलाईन, बुद्धभूमि ।
कपिलवस्तुको बुद्धभूमि नगरपालिकाको विकास र समृद्धिमा सबैको सकारात्मक साथ आवश्यक रहेको सरोकारवालाहरुले बताएका छन् । विकास निर्माणका काममा हुने अवरोधले नगरपालिकालाई समृद्ध बनाउन नसकिने उनीहरुको भनाई छ । बुधबार भएको नगरस्तरिय सार्वजनिक सुनवाई कार्यक्रममा बोल्ने वक्ताहरुले यस्तो बताएका हुन् ।

नगरप्रमुख केशव कुमार श्रेष्ठले नगरपालिका सबैको हो भन्ने अपनत्व लिन सके मात्र नगरमा सुशासन कायम गर्न सकिने बताए । नगरका गौरवका योजनाहरुबारे प्रष्ट पार्दै नगर प्रमुख श्रेष्ठले भने, ‘जबसम्म कुनै पनि योजना सम्पन्न हुदैन् तबसम्म ति योजनालाई निरन्तरता दिएर नै नगर अगाडि बढेको छ ।’
कार्यक्रममा उठेको विभिन्न प्रश्नहरुलाई सम्बोधन गर्दै नगरप्रमुख श्रेष्ठले यस्तो बताएका हुन् । उनले गौरवका योजनालाई प्राथमिकतामा राखेर नगर अघि बढेको बताए । नगरपालिकाले निशुल्क एम्बुलेन्ससंगै रगत पनि निशुल्कै उपलब्ध गराएको उनले बताए । नगरपालिकाले साप्ताहिक रुपमा आँखा जाँचको व्यवस्था मिलाएको र समयसमयमा निशुल्क आँखा शिविर गर्दै आएको बताए ।

उनले आँखा कमजोर भएका हजारौंलाई निशुल्क चस्मा उपलब्ध गराईसकेको बताए । स्थानीय सरकार संचालन ऐनमा व्यवस्था भएको भए आफुले विपक्षीलाई पनि ६ महिना नेतृत्व दिन तयार हुने उनले उद्घोष समेत गरे । विभिन्न क्षेत्राधिकार भित्र रहेको कार्य सम्पादन गर्नुपर्ने विकास निर्माणका काममा केही जटिलता देखापर्ने गरेको उनको भनाई छ ।
कार्यक्रममा राजनितिज्ञ विष्णु हरि शर्मा, पिताम्बर खनाल, ईन्द्रमणी पौडेल, माधन दमासे, रवि ठाकुर लगायतले नगरको विकास र समृद्धिमा राजनितिकिरण गर्न नहुने बताउँदै सबै एकबद्ध हुनुपर्ने बताएका थिए । अनावश्यक रुपमा हुने राजनितिकिरणले नगर सबै दृष्टिकोणबाट पछि पर्ने उनको भनाई छ । कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत ध्रुब प्रसाद नेपाल, विभिन्न शाखाका प्रमुखहरुले उठेका प्रश्नहरुको जवाफ दिएका थिए ।
पत्रकार महासंघ जिल्ला शाखा कपिलवस्तुका अध्यक्ष किरनमान बज्राचार्यको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको संचालन सागर वि.क.ले गरेका थिए ।








