गृहपृष्ठ Featured बुटवलमा रहस्यमय मृत्यु भएका होटल व्यवसायीको परिवारले न्याय नपाएको गुनासो

बुटवलमा रहस्यमय मृत्यु भएका होटल व्यवसायीको परिवारले न्याय नपाएको गुनासो

प्रकाशित मिति:

रुपन्देही ।

बुटवलमा सानो होटल व्यवसाय गर्दै आएका गुल्मीका रामबहादुर रानाको आठ महिनाअघि होटल बन्द गरेर डेरामा जाने बेलामा रहस्यमय मृत्यु भयो । राती ९ बजेसम्म होटल चलाएर केही रकम लिएर दीपनगर घर जाँदै गर्दा बाटोमा उनको मृत्यु भएको थियो ।

गोजीमा भएको मोबाइल साथै रहे पनि रकम भने केही भेटिएन । शंकास्पद रूपले मृत अवस्थामा फेला परेका रानाको हत्या गरेर खोलामा फालिएको भन्दै उनको परिवारले हारगुहार गरे पनि अहिलेसम्म केही पत्तो लाग्न सकेको छैन ।

फागुन २४ गते राती बुटवल ६ चाँदबारीस्थित खोलामा रामबहादुरको शंकास्पद रूपमा हत्या भएको र घटनाको अनुसन्धानमा प्रहरीले चासो नदेखाएको पीडित परिवारले गुनासो गरेका हुन् ।

होटेल तथा रेष्टुरेन्ट व्यवसायी रामबहादुरको बुटवल ६ पुरानो बुटवल चलचित्र हलको पछाडि रहेको होटल बन्द गरेर चाँदबारी हुँदै दीपनगरमा रहेका डेरातर्फ जाने क्रममा हत्या भएको परिवारको भनाइ छ ।

आफ्नो श्रीमानको शंकास्पद रूपमा मृत फेला परेको भए पनि प्रहरीले घटनालाई गम्भीर रूपमा नलिएको भन्दै श्रीमती अम्बी रानाले गुनासो गरेकी छन् । मृतक रामबहादुरकी श्रीमती रानाले पत्रकारहरूसँग कुरा गर्दै घटना घटेको आठ महिना बितिसक्दा पनि प्रहरीले घटनाको अनुसन्धानमा चासो नदिएको बताएकी छन् ।

सम्बन्धित् समाचार