काठमाडौँ ।
वरिष्ठ मुटुरोग विशेषज्ञ तथा लेखक डा. ओममूर्ति अनिलले मुटुरोग रोकथामसम्बन्धी जनचेतनामूलक सामग्री प्रस्तुति गरेर दुई प्रतिष्ठित विश्व रेकर्ड कायम गरेका छन् । शुक्रबार पत्रकार सम्मेलन गरेर ‘गिनिज वर्ल्ड रेकर्डस्’ र ‘वर्ल्ड बुक अफ रेकर्डस् लन्डन’ मा दुई विश्व रेकर्ड कायम गरेको उनले जानकारी गराए ।
फेसबुक लाइभमा ‘कार्डियोभास्कुलर स्वास्थ्य सचेतनाका लागि सबैभन्दा बढी दर्शक’ विधाअन्तर्गत ‘गिनिज वर्ल्ड रेकर्ड’ कायम गरेको अनिलको भनाइ छ ।
उनले गत सेप्टेम्बर २९ मा विश्व मुटु दिवसका अवसर पारेर आफ्नो फेसबुक पेजबाट मुटुरोग रोकथामसम्बन्धी जनचेतनामूलक लाइभ प्रस्तुति गरेका थिए । साँझ ७ बजेर १५ मिनेटदेखि सुरु भएको आधा घण्टा लामो उक्त वैज्ञानिक प्रस्तुतिमा एकै पटक ११ हजार २ सय १२ जनाले लाइभ हेरेका थिए । उक्त प्रस्तुतिलाई ९ हजार जनाले सेयर गरेका थिए । त्यस क्रममा २० हजार लाइक र १८ हजार कमेन्ट आएका थिए । फेसबुक लाइभ सकिँदासम्म १ लाख ५० जनाले हेरेका थिए ।








