काठमाडौं ।
तिहारको मुख्य विशेषता नै हो भाइमसला अर्थात् ‘ड्राइ फ्रुट्स’ । विशेषगरी ताजा फलफूल र ड्राइ फ्रुट्सले हम्रो शरीरलाई विभिन्न रोगबाट बचाउँछन् भने वृद्धि विकासमा पनि सहयोग गर्दछन् । यहाँ चर्चा गरिँदै छ ती पाँच वटा ड्राइ फ्रुट्सको, जुन विश्वभर बढी प्रयोग मात्रै हुँदैनन्, स्वास्थ्यका लागि निकै फाइदाजनक पनि छन् ।
काजु
काजुमा अन्य ड्राइ फ्रुट्सभन्दा कम चिल्लोपना हुन्छ, मुटुको लागि फाइदाजनक मोनोस्याचुरेटेड फ्याट हुन्छ । मोनोस्याचुरेटेड फ्याटले रगतमा कोल्स्ट्रोलको मात्रा घटाउँछ र मुटुसम्बन्धी रोगहरूबाट बचाउन मद्दत पुर्याउँछ । यसमा हुने मिनरल्स, जिंक, म्याग्नेसियम, आइरनजस्ता तत्वले स्मरण शक्ति बढाउन पनि मद्दत गर्दछ । दिउँसोका खाजासँगै ४ देखि ६ वटा काजु खानु स्वास्थ्यवर्धक हुने पोषणविद्हरू बताउँछन् ।
दैनिक डाइटको रूपमा खानुपर्ने अर्को ड्राइ फ्रुट हो पेस्ता । यसबाट पाइने क्यालोरी (चार क्यालोरी प्रतिगोटा), भिटामिन इ, बी, मिनरल्स, फोस्फरस जस्ता तत्त्वले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । यसले रगतलाई जम्न नदिने हुनाले मुटुसम्बन्धी रोगबाट समेत बचाउन मद्दत गर्दछ । पेस्तालाई स्न्याक्सको रूपमा अन्य खानेकुरासँग ५० देखि ८५ ग्रामसम्म दैनिक खान सकिन्छ ।
बदाम (आल्मण्ड)
शरीरको तौल बढाउन बढी खाइने बदामका अनेक फाइदा छन् । यसमा पाइने फाइबर, भिटामिन इ तथा मोनोस्याचुरेटेड फ्याटले मुटुसम्बन्धी रोगबाट बचाउने मात्रै होइन यङ देखाउन पनि मद्दत गर्दछ । बदामलाई दैनिक स्न्याक्सको रूपमा दैनिक ८ देखि १० वटासम्म खान सकिन्छ । यसलाई काटेर दहीसँग मिसाएर खाँदा छालालाई चम्किलो बनाउन पनि सहयोग पुग्ने पोषणविद्हरू बताउँछन् ।
बदाम (पिनट्स)
जाडोयाममा सहजै उपलब्ध हुने बदाममा हाइ क्यालोरी पाइन्छ । साथै यसमा पाइने प्रोटिन, फाइबर, भिटामिन बीजस्ता तत्वले रोग प्रतिरोध प्रणालीलाई बलियो बनाउँछ भने मुुटुसम्बन्धी रोगहरूबाट पनि बचाउँछ । विशेषगरी गर्भमा रहेको शिशुको वृद्धि विकासका लागि बदामको महत्वपूर्ण भूमिका हुने अध्ययनहरूले देखाएका छन् । दैनिक ग्राम २८ ग्राम बदाम खानले स्वास्थ्यलाई फाइदा पुर्याउँछ ।
ओखर
बहुउपयोगी ओखरले शरीरलाई त फाइदा गर्छ नै मस्तिष्कको वृद्धि विकासमा पनि महत्वपूर्ण भूमिका खेल्दछ । दैनिक दुई वटा ओखर खानाले शरीरका सेलहरूलाई सन्तुलनमा राख्दछ भने क्यान्सरको जोखिमबाट पनि जोगाउने विभिन्न अध्ययनले देखाएका छन् । विशेषगरी बालबालिकाको मस्तिष्क विकास र रोग प्रतिरोधी क्षमता वृद्धिका लागि ओखर महत्वपूर्ण ड्राइ फ्रुट मानिन्छ ।








