रामेछापको उत्तरी क्षेत्रमा पर्ने उमाकुण्डको कुवुकास्थलीमा भाइले प्रहार गरेकाे धारिलाे हतियारबाट दाइको अवस्था गम्भीर बनेको छ । गएराति घरायसी विवाद हुँदा उमाकुण्ड गाउँपालिका– ३ कुवुकास्थलीस्थित कोलाका ओसिराम बस्नेतले आफ्नै दाजु ४९ वर्षीय देवबहादुर बस्नेतमाथि धारिलाे हतियार प्रहार गरेका थिए ।
भाइकाे हतियार प्रहारबाट दाजु देवबहादुरको दुवै खुट्टा र दाहिने हातमा गहिरो चोट लागेको छ । उनलाई स्थानीयहरूले घटनास्थलबाट तत्काल उद्धार गरी स्वास्थ्य चौकी लगेका थिए ।
स्थानीय स्वास्थ्य चौकीमा उनको उपचार सम्भव नभएपछि हेलिकोप्टरमार्फत थप उपचारका लागि काठमाडौंस्थित ग्रान्डी अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी शैलेन्द्रकुमार खड्काले जानकारी दिए ।
उक्त घटनापछि हतियार प्रहार गर्ने ओसिरामलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान अघि बढाइएको प्रहरीकाे भनाइ छ ।