गृहपृष्ठ Featured ‘१४ औं कपिलवस्तु महोत्सवको तयारी ३० प्रतिशत पुरा’

‘१४ औं कपिलवस्तु महोत्सवको तयारी ३० प्रतिशत पुरा’

सागर वि.क., कपिलवस्तु ।

१४ औं कपिलवस्तु महोत्सवको तयारी करिब ३० प्रतिशत पुरा भएको छ । यही मंसिर २१ गतेदेखि पौष १ गतेसम्म हुने महोत्सवको तयारी करिब ३० प्रतिशत भईसकेको बाणगंगा वेलफेयर सोसाईटीका अध्यक्ष समेत रहेका महोत्सवका संयोजक राजकुमार खाँणले जानकारी दिए ।

विभिन्न आवश्यक समिति, उपसमितिमार्फत महोत्सवको तयारी तीब्र भईरहेको बताउँदै उनले भने, ‘आन्तिरिक र बाह्य गरि करिब ३० प्रतिशत काम सम्पन्न गरिसकेका छौं ।’

उनले हाल महोत्सव स्थलको वरिपरि कम्पाण्ड निर्माण काम सम्पन्न भईसकेको र स्टल बनाउने काम अन्तिर चरणमा पुगेको बताए । संयोजक खाँणले अब मञ्च, सचिवालय, प्रवेश गेट निर्माणको कामलाई पनि अघि बढाउने बताए । निर्धारित मितिमै महोत्सवको भव्य र सभ्य तरिकाले उद्घाटन गर्ने उनको दाबी छ । उनले विगतका बर्षहरुमा भन्दा १४ औं कपिलस्तु महोत्सव पृथक हुने जिकिर गरे ।

थलिएको आर्थिक क्षेत्र, उद्यमी व्यवसायी र आम सर्वसाधारणलाई आर्थिक पुनरुत्थानको आयामको रुपमा महोत्सवलाई लिन सकिने उनको भनाई छ । ‘अर्थतन्त्रलाई चलायमान गराउँन महोत्सवले टेवा पुग्ने छ,’ उनले भने, ‘उद्योग, व्यवसायको प्रवद्र्धन गर्दै उद्योगी व्यवसायीलाई केही राहत दिलाउने उद्देश्य छ ।

महोत्सवमा यस क्षेत्रका पर्यटकीय गन्तव्यको प्रचारप्रसार गर्दै कपिलवस्तुको व्यवसायलाई प्रतिबिम्बित गरिने उनले बताए । उनले हस्तकलाको प्रदर्शनसंगै शैक्षिक प्रदर्शनी र कृषि प्रदर्शनी समेत हुने बताए । विगतका महोत्सवमा रहदै आएका विभिन्न खानाका परिकार, बालउद्यान जस्ता गतिविधिलाई निरन्तरता दिने उनले बताए ।

‘युवा स्वरोजगारको बलियो आधार उद्योग पर्यटन र कृषि क्षेत्रको प्रचार प्रसार र प्रवद्र्धनमा प्रोत्साहन’ भन्ने मूल नाराका साथ १४ औं कपिलवस्तु महोत्सव बाणगंगा नगरपालिका- ४ बुद्धरंगशालामा हुदैं छ ।

सम्बन्धित् समाचार