रुपन्देही ।
सरकारी स्वामित्वमा रहेको दूग्धविकास संस्थान (डीडीसी) ले नेपालमै पहिलो पटक प्लाष्टिक बोटलमा फ्रेस मिल्क बजारमा ल्याएको छ ।
एनएलएसआईपीको ३ करोड ५० लाख रुपैयाँ अनुदान सहयोगमा दुग्ध विकास संस्थान लुम्बिनी वितरण आयोजनामा बुटवलमा उक्त प्लान्ट निर्माण गरिएको हो । जसको लागि चाहिने उपकरण, मेसिनलगायतका सम्पूर्ण उपकरणहरू अनुदान सहयोगमा प्राप्त भएको हो भने डीडीसीले ५५ लाख लागतमा भवन निर्माण लागत सहभागिता गरेको छ ।
बुटवलमा नेपाल लाइभ स्टक सेक्टर इनोभेसन आयोजना संघीय आयोजनाको अनुदान सहयोगमा निर्माण भएको प्लान्टबाट फ्रेस मिल्क उत्पादन सुरुवात गरिएको हो ।
फूल अटोमेटिक फ्रेस मिल्क प्लान्टमा दिनमा दुई ब्याच सञ्चालन गर्न सकिन्छ जसमा २०० मिलिलिटरको बोटलमा प्रतिघण्टा २ हजार ५ सय बोतल भर्न सक्ने क्षमता रहेको छ । ५ हजार क्षमताको पाष्चरराइजेशन मेसिनसहितको सहयोग नेपाल लाइभ स्टक सेक्टर इनोभेसन आयोजनाले गरेको हो ।
संघीय मन्त्रालयको पशुपक्षी विकास मन्त्री डा. बेदुराम भुसालले यो प्लान्टको शुभारम्भ गरे ।
भुसालले सरकारी स्वामित्वका रहेको डीडीसीले बहुसंख्यक किसानको दूध सङ्कलन गरी त्यसलाई बजारीकरणमा अझ बढी जोड दिनुपर्ने बताए ।
उनले किसानले जति धेरै भैँसी पालेर दूध उत्पादन गर्छन्, त्यति नै बजारीकरण हुने गरी सरकारले काम गरिरहेको र किसानले उत्पादन गरेको दूध खपत गराउने गरी सरकारले छिमेकी मुलुकसँग छलफल गरी बजारको बाटो तय गरेको जनाए ।








