बुटवल ।
पाल्पा जिल्लाको निस्दी गाउँपालिकामा उज्यालो प्रदेश अवधारणा अनुसार विद्युत् नभएका घरधुरीमा विद्युत पुर्याउने कार्यक्रम २०७८ सालको चैत महिनामा सुरु गरिएको थियो ।
प्रदेशका तत्कालीन ऊर्जा तथा सिँचाइमन्त्री वीरबहादुर रानाले कार्यक्रम शुभारम्भ गरेपछि पोल गाडियो र केही तार पनि ल्याइयो । तर अझैसम्म विद्युत् बाल्न नसकेको स्थानीय तारा बहादुर रानाले सुनाए ।
पछिल्लो तथ्याङ्क अनुसार लुम्बिनी प्रदेशमा ९६ प्रतिशत विद्युतीकरण भएको छ तर यो पाल्पाको गाउँजस्तै अझै ४ प्रतिशत घरधुरीमा विद्युत् पु¥याउन बाँकी छ ।
लुम्बिनी प्रदेशका सबै घरमा विद्युत् आपूर्ति गरी आगामी ५ वर्षभित्र उज्यालो प्रदेश बनाउने लक्ष्यसहित अघि बढे पनि अझै ४ प्रतिशत घरधुरीमा विद्युत् सेवा पुग्न बाँकी रहेको लुम्बिनी ऊर्जा शाखाका प्रमुख इन्जिनियर झनक थापाले बताए ।
कुन जिल्लामा कस्तो अवस्था ?
लुम्बिनी प्रदेशका १२ जिल्लामध्ये कपिलवस्तु र नवलपरासी जिल्लामा शतप्रतिशत घरधुरीमा विद्युत् पुगेको छ । सबैभन्दा कम घरधुरीमा विद्युत पहुँच रहेको जिल्ला रुकुम पूर्व हो, जहाँ अहिलेसम्म २५.९७ प्रतिशत घरधुरीमात्र विद्युत् उपभोग गर्न सफल छन् ।
प्रदेशको जलस्रोत शाखाको पछिल्लो तथ्याङ्कअनुसार रोल्पामा जिल्लामा ७२.८८ प्रतिशत घरधुरीमा विद्युत् पुगेको छ ।
रुकुम पूर्वको भूमे, उत्तर पुथा गाउँपालिकाका केही गाउँमा विद्युतीकरण गर्न बाँकी छ । यस्तै रोल्पाको गङ्गादेव थवाङ्ग, परिवर्तन गाउँपालिका केही गाउँमा अझैसम्म विद्युतीकरण भएको छैन । पाल्पा जिल्लामा हालसम्म ९३.४९ प्रतिशत घरधुरीमा विद्युत् पुगेको छ ।
यस्तै गुल्मीमा ९९.९४ प्रतिशत, प्युठानमा ९५.७५ प्रतिशत, दाङमा ९७.९७ प्रतिशत घरधुरीमा विद्युतीकरण भएको छ । गुल्मीको मुसिकोटको केही ठाउँ, प्युठानको गौमुखी गाउँपालिकाका केही गाउँमा विद्युत् पु¥याउन बाँकी छ । यस्तै दाङको बबई, शान्तिनगर लगायतका केही ठाउँमा अझै विद्युत् सेवा पुगेको छैन ।
बर्दिया जिल्लामा ९९.१९ प्रतिशत, बाँके जिल्लामा ९९.४२ प्रतिशत घरधुरीमा विद्युत् पुगेको छ । बर्दियाको बासिगढी र वार बर्दियाका केही ठाउँमा विद्युत् पु¥याउन बाँकी छ । यस्तै बाँके जिल्लाको डढुवा, राप्तीसोनारी गाउँपालिकाका केही ठाउँमा अझैसम्म विद्युत् पुगेको छैन ।








