गृहपृष्ठ Featured बुटवलद्धारा स्पोर्टिङ इलाम पराजित

बुटवलद्धारा स्पोर्टिङ इलाम पराजित

मार्की खेलाडी एरिक विष्टको उत्कृष्ट फ्रिकिक गोलको मद्दतमा बुटवल लुम्बिनी एफसीले नेपाल सुपर लिग (एनएसएल) मा पहिलो जित निकालेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको खेलमा बुटवलले स्पोर्टिङ इलामलाई २–१ गोलले पराजित गरेको हो।

खेल १–१ को बराबरीमा रहेको अवस्थामा एरिकले झन्डै ३५ यार्ड टाढाबाट प्रहार गरेको फ्रिकिकले सिधै जाली चुमेको थियो। स्टेफन समिर बिनोङलाई फल गरेपछि प्राप्त फ्रिकिकमा एरिकले दर्शनीय गोल गरेका थिए।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ४९औं मिनेटमा बुटवलले अग्रता बनाएको थियो। जिलेस्पीजंग कार्कीले उपलब्ध गराएको पासलाई सदुपयोग गर्दै बिनोङले उत्कृष्ट गोल गरेका थिए। खेलको ५८औं मिनेटमा पेनाल्टीमार्फत खेल बराबरी गर्ने सुनौलो अवसर इलामले पाएको थियो।

बुटवलका खेलाडीले दीपेश घलेलाई फल गरेपछि इलामले पेनाल्टी पाएको थियो। तर, त्यसलाई फोडे कमाराले सदुपयोग गर्न सकेनन्। उनको प्रहार बुटवलका गोलरक्षक मोहमाडौले बचाएका थिए।

बुटवलले दोस्रो संस्करणमा पहिलो जित निकालेको हो। लगातार दुई खेलमा पराजय बेहोरेको बुटवलले तीन खेलमा तीन अंक जोडेको छ।

सम्बन्धित् समाचार