बाणगंगा, वैखरी अनलाईन ।
१४ औं कपिलवस्तु महोत्सवको तेस्रो दिन अर्थात शनिबार करिब १० हजार दर्शकले अवलोकन गरेका छन् । महोत्सवका संयोजक तथा बाणगंगा वेलफेयर सोसाईटीका अध्यक्ष राजकुमार खाँणले महोत्सवको तेस्रो दिन दर्शकको उत्साहजनक उपस्थिति देखिएको बताए ।
शनिबार चर्चित लोक दोहोरी गायक रामजी खाँण, चर्चित लोकदोहोरी गायिका अस्मिता डल्लाकोटी, गायिका अनु चौधरी, नेपाल आईडलका टप १२ प्रतियोगी अफ्सर अलीसहित स्थानीय कलाकारले बेजोड प्रस्तुति राखेको संयोजक खाँणले बताए ।
शनिबार नै रेस्लिङ्ग प्रतियोगितको फाईनल खेल भएको जानकारी दिदैं उनले सो प्रतियोगितामा समेत उल्लेख्य मात्रामा दर्शकको आगमन भएको बताए ।
शुक्रबार लोकदोहोरी गायक प्रिन्स लम्साल, रमेश निर्दोश र लोक दोहोरी गायिका संगिता चितौरेले आफ्नो प्रस्तुति राखेका थिए ।
बाणगंगा वेलफेयर सोसाईटीको आयोजनामा यही मंसिर २१ गतेदेखि सुरु भएको महोत्सव पौष १ गतेसम्म चल्ने छ । महोत्सव बाणगंगाको चारनम्बर जीतपुरमा अवस्थित बुद्धरंगशालामा भईरहेको छ ।








