बुटवल । गुल्मीको रेसुङ्गा विमानस्थलमा नेपाल वायुसेवा निगमको ट्विनअटर जहाजले उडान भर्ने गरेको छ । २०८० वैशाखको २९ गतेदेखि हप्ताको दुई दिन उडान सुरु गरेको निगमको विमानमा कुनै दिन पनि एक सिट राखी राख्नु पर्ने अवस्था आएको छैन ।
सुरुमा गुल्मी जस्तो पहाडी जिल्लामा यात्रु नपाइएला भन्ने चिन्तामा रहेका सरोकारवालाहरू अहिले उत्साहित बनेका छन् । रेसुङ्गा विमानस्थलको परीक्षण उडान २०८० सालमा वैशाख १५ गते भएको थियो भने व्यावसायिक रूपमा वैशाख २९ गतेबाट नेपाल वायुसेवा निगमको ट्विनअटर जहाजले नियमित उडान थालेको हो ।
यात्रुहरू काठमाडौँबाट जान र आउनको लागि सिट प्याक हुने गरेको छ । बरु कहिलेकाहीँ टिकट नपाएर काठमाडौँबाट अरू यातायातका साधन प्रयोग गरी गुल्मी आउनुपर्ने अवस्था रहेको तम्घासका महेन्द्र भण्डारीले बताए ।
नेपाल वायु सेवा निगमका रेसुङ्गा स्टेसन प्रमुख सुमन थापाले हालसम्म विमान उडेको बेलामा सधैँ प्याक नै रहेको रातोपाटीलाई बताए । उनका अनुसार हालसम्म २८ पटकको उडानमा ७४० यात्रुले यात्रा गरिसकेका छन् । उनले विमान मौसमका कारण अवरुद्ध हुनेबाहेक अन्य उडानमा यात्रुहरूको कारण कुनै समस्या नरहेको खुलाए ।
सुरुमा विमानस्थल सञ्चालन गर्दा यात्रुको कम हुने कम्पनीहरूले शङ्का व्यक्त गरेपछि विमानको सिट खाली रहेमा उक्त खाली सिटबापतको रकम रेसुङ्गा नगरपालिकाले तिर्ने सहमति गरिएको थियो । तर अहिलेसम्म विमान चलेको दिन सिट सधैँ प्याक भएपछि आफूहरूले भाडा बापत कुनै रकम दिन नपरेको नगर प्रमुख खिलध्यज पन्थीले रातोपाटीलाई बताए । उनले भने, ‘सिट प्याक हुन्छ । बरु टिकट खोसाखोस भएको अवस्था छ ।’
रेसुङ्गा नगरपालिकाले विमानस्थलमा सुरक्षाकर्मी, खानेपानी ट्याङ्कीलगायत अन्य भौतिक सहयोग गरेको छ । २०६३ सालमा रेसुङ्गा विमानस्थलको शिलान्यास तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उड्डनमन्त्री प्रदीप ज्ञवालीले गरेका थिए । तर ०६३ सालमा शिलान्यास भए पनि विमानस्थलको निर्माणको काम २०७२ सालपछि मात्र सुरु भएको थियो । कोरोना महामारीका कारण विमानस्थल निर्माणको काममा थप ढिलाइ भएको आयोजनाले जनाएको थियो ।
करिब ३५ करोड लगानीमा निर्माण भएको रेसुङ्गा विमानस्थल धावनमार्गको लम्बाइ ५२० मिटर र चौडाइ २० मिटर रहेको छ । यो कुल १५६ रोपनी जग्गामा फैलिएको छ । विमानस्थल निर्माणको लागि मुआब्जा दिने गरी १४ घर बस्ती विस्थापित र २८ घर परिवारको जग्गा अधिग्रहण गरिएको छ ।
उडान थप्न माग
वैशाखको अन्त्यमा सुरु भएको विमानस्थलमा असार, साउन र भदौ महिनामा उडान डिस्टर्व हुन पुग्यो । त्यति बेला मौसम हेरेर मात्र विमान आउने जाने भयो ।
पहाडी जिल्ला गुल्मीमा बर्खाको बेलामा बादल धेरै लाग्ने भएका कारणले विमान नियमित हुन पाएको थिएन । भदैको अन्तिमदेखि हप्तामा दुई दिन बुधबार र शुक्रबार नियमित उडान हुने गरेको छ । हिउँदमा भने कुनै समस्या आएको छैन । बिहान तलतल हुस्सु लागेपनि विमान उडानका गर्न मिल्ने हुन्छ ।








