पाल्पा ।
लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले चालु आर्थिक वर्षको चार महिनामा प्रदेश सरकारको पुँजीगत खर्च ६ दशमलव ५९ प्रतिशत मात्र भएकामा असन्तुष्टि व्यक्त गरेका छन् । उनले खर्च प्रतिशत बढाउन मुख्यमन्त्री डिल्लीबहादुर चौधरीलगायतसँग छलफल गर्नेसमेत बताए ।
पाल्पाको रिब्दीकोट गाउँपालिका–८, फेकमा स्वास्थ्य चौकी भवन उद्घाटन कार्यक्रममा सँगै रहेका प्रतिनिधिसभा सदस्य ठाकुर गैरेले प्रदेश सरकारले गर्ने खर्चमा टिप्पणी गरेपछि सभामुख घर्तीले कम्तीमा १५ प्रतिशत खर्च हुनुपर्नेमा हुन नसकेको स्वीकारे । ‘पहिलो चौमासिकमै धेरै नै खर्च हुनुपर्छ भन्ने होइन,’ उनले भने, ‘प्रारम्भिक चरणमै भएकाले जग नै कमजोर देखिएको छ ।’ दोस्रोमा ४० र तेस्रोमा ८० प्रतिशत खर्च पुग्नुपर्ने सभामुख घर्तीले बताए ।
सभामुख घर्तीले पहिलो चौमासिकमै धेरै खर्च हुनुपर्छ भन्ने होइन तर साढे ६ प्रतिशत भनेको धेरै नै कमजोर भएकोसमेत उल्लेख गरे । तर खर्च प्रतिशत दोस्रो र तेस्रो चौमासिकममा बढ्ने बताउँदै मुख्यमन्त्री तथा मन्त्रीहरूलाईलाई सुझाएर प्रदेश सरकारले खर्च बढाउनेतर्फ सरकारको ध्यानाकर्षण गराउने सभामुख घर्तीले बताए ।
लुम्बिनी प्रदेश सरकारले चालू आर्थिक वर्षको चार महिनामा जम्मा ९ दशमलव ८७ प्रतिशत बजेट खर्च गरेको छ । पुँजीगततर्फ जम्मा ६ दशमलव ५९ प्रतिशत मात्रै खर्च गरेको छ । सात महिनासम्म सरकारले पूर्णता नपाउँदा र मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले सम्हाल्दै आएका मन्त्रालयहरूको पुँजीगत खर्च कम भएको प्रदेशसभा सदस्यहरूको आरोप छ । लुम्बिनी प्रदेश लेखा नियन्त्रक कार्यालयले चालू आर्थिक वर्षको चार महिनामा जम्मा ९ दशमलव ८७ प्रतिशत बजेट खर्च गरेको जनाएको छ ।








