वैखरी अनलाईन, बुद्धभूमि ।
वनदेवी सामुदायिक वन उपभोक्ता समूहको चौथो बार्षिक साधारण सभा सम्पन्न भएको छ । बुद्धभूमि नगरपालिका वडा नम्बर ५ मा अवस्थित उक्त वनले शनिबार चौथो बार्षिक साधारण सभा सम्पन्न गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथि बुद्धभूमि नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष रोमबहादुर थापा क्षेत्रीले सामुदायिक वनमा हुने आयआर्जनको प्राथमिकता विपन्न घरपरिवार हुनुपर्ने बताए ।

विपन्न परिवारको आवश्यकता पहिचान गरि त्यसको आपुर्तिमा वनले मद्दत गर्नुपर्ने उनको भनाई छ । वडाध्यक्ष थापाले दैनिक हजारौं युवाहरु वैदेशीक रोजगारीमा गईरहेकोमा चिन्ता व्यक्त गर्दै उक्त राष्ट्रिय समस्याको न्युनीकरण गर्न सामुदायिक वनले रोजगारीको सम्भावना सिर्जना गरि गाउँघरमै काम दिनुपर्ने बताए । त्यसका लागी वडाले चाल्नुपर्ने आवश्यक कदम चाल्न आफु तयार रहेको उनको जिकीर छ । वायु प्रदुषण बढ्दै गएको बताउँदै उनले भने, ‘वन हराभरा हुनुपर्दछ । प्रदुषणलाई कम गर्नुपर्छ । अनि मात्र तीब्र गतिमा भईरहेको जलवायु परिवर्तन कम हुन्छ र प्राणीको जीवन रक्षा हुन्छ ।’

सामुदायिक वनसंग जोडिएका उपभोक्ताहरुको मन जित्ने काम गरे मात्र सामुदायिक वन जनताको धन भन्ने भनाई सार्थक हुने उनले बताए ।
कार्यक्रमका प्रमुख अतिथि बुद्धभूमि नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष रोमबहादुर थापा क्षेत्रीले वन सबैको धन भएकाले यसको संरक्षणमा सबै जिम्मेवार भएर लाग्नुपर्ने बताए । उनले तुलनात्मक रुपमा वन सानो भएता पनि यसको प्रवद्र्धन गर्दै आम उपभोक्ताको मागलाई पुरा गर्नुपर्ने बताए । उनले वन डढेलो नियन्त्रणमा सबै उपभोक्तालाई चनाखो हुन आग्रह गरे ।
वनको खाली जग्गामा वृक्षरोपण गर्दै आवश्यक स्थानमा तारबार गरेर जान उनले सुझाव समेत दिए । वडाध्यक्ष थापाले वडा वनसंग सहकार्य गरेर अघि बढ्न तयार रहेको बताए । वडाध्यक्ष थापाले एउटा वडाको बजेट भन्दा वनको बजेट धेरै हुने भएकाले दुवैको सहकार्यमा काम गर्दै जान आवश्यक रहेको उनको भनाई छ ।
कार्यक्रममा वनका अध्यक्ष मोतिलाल यादवले बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । सो क्रममा उनले वनको आवश्यकताको प्राथमिकता र पहिचान गरि यथाशक्य आपुर्ति सहज बनाउन आफुहरु लागी पर्ने बताएका थिए । अध्यक्ष यादवले वन क्षेत्रको संरक्षणबाट वन पैदावर उत्पादन वृद्धिदरमा उल्लेख्य सुधार गर्दै आएको बताए ।
अध्यक्ष यादवले २७० घरधुरी परिवार यस सामुदायिक वनको उपभोक्ता रहेको जानकारी दिए । यस सामुदायिक वन कुल २८७.७१ हेक्टर क्षेत्रफलमा फैलिएको छ ।
वनका कोषाध्यक्ष मोहम्मद आरिफले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा वैज्ञानिक वन उपभोक्ता समितिका केन्द्रित सदस्य सुर्य मल्ल, सामुदायिक वन संजालका अध्यक्ष लाल बहादुर कुवँर, राजपुर सिएलसिका अध्यक्ष शालिकराम सुवेदी, मुरलीधर घिमिरे लगायतले मन्तव्य राखेका थिए ।
यसैबीच वनले बार्षिक साधारण सभाको अवसरमा १० जना गरिब विपन्न परिवारका १० जना विधार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ । ४ वटा विद्यालयमा अध्ययनरत आर्थिक अवस्था कमजोर भएका १० जना विधार्थीहरुलाई कापी, कलम, विद्यालय पोसाक र झोला वितरण गरिएको हो ।
वनका पदाधिकारी, समाजसेवी, बुद्धिजिवी एवम् उपभोक्ताको उल्लेख्य सहभागिता रहेको कार्यक्रम हिरालाल थारु गिरीको संचालनमा सम्पन्न भएको हो ।








