गृहपृष्ठ Featured जितगढी राष्ट्रिय स्वाभीमान र पहिचानको महत्वपूर्ण स्थल : राष्ट्रपति पौडेल

जितगढी राष्ट्रिय स्वाभीमान र पहिचानको महत्वपूर्ण स्थल : राष्ट्रपति पौडेल

रूपन्देही ।

राष्ट्रपति रामचन्द्र पौडेलले जितगढीलाई नेपाली वीरताको ऐतिहासिक केन्द्रका रुपमा विकास गरी यस वरपरका ऐतिहासिक, पुरातात्विक, धार्मिक र सांस्कृतिक महत्वका क्षेत्रलाई एउटै सर्किटमा जोड्न जरुरी रहेको बताएका छन् ।

ऐतिहासिक जितगढी किल्ला नेपाली सेनाद्वारा बुटवल उपमहानगरपालिकालाई हस्तान्तरण कार्यक्रममा राष्ट्रपति पौडेलले जितगढीलाई मणिमुकुन्द सेनको दरबार, नुवाकोटगढी, रामापिथेकश क्षेत्र हुँदै सहस्रधारा, लक्ष्मीनगर र हिलपार्कसम्म जोड्न सके यसले देशको पर्यटन विकासमा योगदान दिने बताए ।

उनले जितगढी राष्ट्रिय स्वाभीमान र पहिचानको महत्वपूर्ण स्थल भएको उल्लेख गरे ।

राष्ट्रपति पौडेलले जितगढी किल्ला ठूला साम्राज्यसँंग नेपाली सौर्य र कूटनीतिक चातुर्यताले ठूलो बलिदानीबाट देश जोगाएको इतिहासको निशानी भएको बताए ।

‘आगामी दिनमा यस किल्लालाई नेपाल-अंग्रेज युद्धको अध्ययन, अनुसन्धान गर्ने र पर्यटकीय स्थलको रुपमा प्रवर्द्धन गर्न बुटवल उपमहानगरपालिका, प्रदेश तथा संघीय सरकारलाई यस्ता ऐतिहासिक र सामरिक महत्वका स्थलहरूको संरक्षण र प्रवर्द्धनमा थप चासो बढाउन आग्रह गर्दछु’, उनले भने ।

सम्बन्धित् समाचार