गृहपृष्ठ Featured सगरहवामा भोलिदेखि १५ दिने ‘कपिलवस्तु राष्ट्रिय मूर्तिकला कार्यशाला’ हुदैं

सगरहवामा भोलिदेखि १५ दिने ‘कपिलवस्तु राष्ट्रिय मूर्तिकला कार्यशाला’ हुदैं

वैखरी अनलाईन, बाणगंगा ।

कपिलवस्तु नगरपालिका- ९ सगरहवामा ‘कपिलवस्तु राष्ट्रिय मूर्तिकला कार्यशाला’ हुने भएको छ । सोमबार अर्थात भोलिबाट सुरु भई माघ ८ गते समापन हुने उक्त कार्यशालाबारे आईतबार पत्रकार सम्मेलन गरि जानकारी गराईएको हो ।

१५ दिने कार्यशालाको सोमबार लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्यारक्याल लामा (खेन्पो छिमें) ले उदघाटन गर्ने निर्देशक समितिका संयोजक दुण्डिराज भट्टराई ‘सिद्धिचरण’ ले जानकारी दिए । कार्यशालामा देशभरका ख्याति प्राप्त १५ जना मूर्तिकारहरु र सहयोगी मूर्तिकारहरु गरि ३० जना मूर्तिकारहरु सहभागि हुने उनले बताए ।

उनका अनुसार उनीहरुले सगरहवाको ऐतिहासिकता माथि १५ वटा छुटाछुटटै प्रस्तरकला निर्माण गर्ने छन् । ‘मूर्तिकारहरुले भगवान बुद्ध महापरिनिर्वाण नहुँदै कपिलवस्तु राज्यमाथि कोशल नरेश बिड्डमले गरेको दर्दनाक आक्रमण, बुद्धको शान्ति प्रयास र शाक्यहरुको पितृस्थलको महत्व झल्काउने गरी प्रस्तरमा आकार दिनेछन्,’ उनले भने ।

सगरहवाको ऐतिहासिक, धार्मिक तथा पुरातात्विक महत्वलाई उजागर गर्ने र यस क्षेत्रको संरक्षण तथा पर्यटकिय विकास गर्ने उद्देश्यले लुम्बिनी विकास कोषको अगुवाईमा कार्यशाला गरी एक रमणिय सगरहवा उद्यान निर्माण गर्ने योजना रहेको उनले सुनाए ।

गत वर्ष लुम्बिनी विकास कोषले समग्र बृहतर लुम्बिनीको विकासमा स्थानीय, लगायत सरोकारवालाको साझेदारीमा गर्ने नीति अगाडि सार्दै कपिलवस्तु मूर्ति कार्यशाला गर्ने निर्णय गरेको थियो । गत वर्ष विविध कारणले स्थगित यो कार्यक्रमलाई कोषले प्राथमिकताका साथ राखेपछि यस बर्ष सुरु हुन लागेको हो ।


लुम्बिनी प्रदेश सभा सदस्य विष्णु पन्थीले लुम्बिनी, तिलौराकोट, सगरहवा लगायतका क्षेत्रको प्रवर्द्धन र विकासमा बाटो नछेक्न पुरातत्व विभागलाई आग्रह गरेका छन् । उनले वर्षौसम्म पुरातत्व भन्दै बस्नु परेको बताए । उनले यस क्षेत्रको व्यवस्थित विकासको लागि सहयोग गर्न अपिल समेत गरे ।

सगरहवामा शाक्य गणराज्यको उत्थान र पतनसंग गाँसिएको ऐतिहासिक तथ्य, बौद्ध साहित्यमा उल्लेख छ । सगरहवा ऐतिहासिक, पुरातात्विक, धार्मिक एवं पर्यटकिय स्थल हो । कपिलवस्तु जिल्लाको सदरमुकाम तौलिहवाबाट ९ कि.मी. र तिलौराकोटवाट ६ कि.मी. उत्तरमा रहेको छ भने पूर्व पश्चिम राजमार्गको बनगाईबाट ७ किमी तथा नेपालको दोस्रो पंक्षी आरक्ष जगदिशपुर तालको दक्षिण तर्फ अवस्थित छ ।

सगरहवा तालको पश्चिम र दक्षिण भागमा शाक्यहरूले आफुनो वंशको नरसंहार भएपछि उनीहरुको सम्मन्न निर्माण गरेको चीनियाँ यात्री हुयन् साङ्को सन् ६३६ को यात्रा बृतान्तमा उल्लेख गरिएको पाइन्छ । सन् १८९७ मा डा. फुरर्हरद्वारा गरिएको उत्खनन् तथा अन्वेषणमा शाक्य सेनाहरुको सम्झनामा १७ वटा निर्माण गरिएका ठूलो वर्गाकार स्तुपहरु र धेरै संख्यामा साना स्तुप भेटिएको थियो । स्तुपभित्र हड्डी, सुन, चाँदी, क्रिस्टल तथा रुबी जस्ता सामाग्री प्राप्त भएका थिए ।

सम्बन्धित् समाचार