रुपन्देही ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वखेलाडी शक्ति गौचनले रुपन्देहीमा निजी क्षेत्रको लगानीमा निर्माणाधीन पहिलो अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला फागुनको दोस्रो हप्तासम्ममा तयार हुने बताएका छन् ।अस्ट्रेलियामा रहेको एक्स्ट्राटेक ओभल नामक आइटी कम्पनीले करिव ४० करोड रुपैयाँ लागत राखेर उक्त क्रिकेट रंगशालामा निर्माण गरिरहेको छ ।
राष्ट्रिय क्रिकेट टोलीका पूर्वसदस्य शक्ति तिलोत्तमा नगरपालिकास्थित पूर्व दरखसवामा निर्माणधीन सो रंगशालाको ब्राण्ड एम्बासडरसमेत हुन् । नेपाली टोलीका पूर्वस्पिनर शक्तिले अहिले रंगशाला पूर्ण रूपमा तयार भइनसकेको उल्लेख गर्दै फागुनको पहिलो वा दोस्रो हप्तासम्म तयारी हुने बताए । रुपन्देहीमा निजी क्षेत्रको लगानीमा निर्माणाधीन पहिलो अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिता या अन्य खेलहरू खेलाउन सकिन्छ कि सकिन्न भन्दै नेपाल क्रिकेट संघ(क्यान) का अध्यक्ष चतुरबहादुर चन्द र क्यानका पूर्वकार्यवहाक सचिव प्रशान्त मल्ललगायतले निरीक्षण गरेका थिए ।
गौचनले भने, ‘मैदानमा सात वटा पिच रहेको छ । सो पिच फागुनबाट प्रतियोगिताका लागि योग्य हुन्छ ।’ उक्त रंगशालामा पेभेलियन, ड्रेसिङ रुम र अन्य रुमहरू निर्माण पनि भइरहेको छ । उक्त रंगशालामा तत्कालका लागि दर्शक सिट ५ हजार क्षमताको बनाउने र अन्य कृत्रिम बस्ने स्थान बनाइँदैछ । पूर्वक्रिकेटर शक्तिले यो मैदानको उद्घाटन प्रतियोगिता राख्ने योजना रहेको बताए । उनले सन् १९९६ को नेपाली राष्ट्रिय क्रिकेट टोली, सन् २०१४ को राष्ट्रिय टोली र केही अन्य टोलीबीच टी–१० श्रृंखला आयोजना गर्ने योजना रहेको बताए ।
हाल रंगशालामा निर्माण गर्ने क्रममा खराब मौसमले केही प्रभावित भइरहेको छ । अहिले मैदानमा घाँस रोप्ने काम भइरहेको छ । सो रंगशालामा माधव पाठकले क्युरेटरको काम गरिरहेका छन् । फागुनबाट राम्रो पिच तयार हुने क्युरेटर पाठकले बताए । ‘केही दिनमा पिचको काम हुनेछ भने आउट फिल्डको काम पनि सुरु हुनेछ । केही स्थानमा भने रोपिएका घाँस काट्ने काम भइरहेको छ ।
घाँस नआएको स्थानमा रोपिन थालिएको रंगशालाको छ,’ क्युरेटर माधव पाठकले भने । रंगशाला करिव पाँच बिघा क्षेत्रफलमा बनिरहेको छ ।








