केही खेलाडी दबाबमा बढी राम्रो खेल्ने गर्छन् । यानिक सिनिर त्यस्तै रहे । उनले दुई सेटले पछाडि रहेको स्थिति उल्टाउँदै आइतबार ड्यानिल मेडभेडेभलाई पाँच सेटको फाइनलमा पराजित गर्दै अस्ट्रेलियन ओपन टेनिसको उपाधि जितेका छन् ।
उनले ग्रान्ड स्लामको उपाधि जितेको यो पहिलोपल्ट हो । सुरुमा दुई सेटमा रुसी खेलाडीको आक्रामक प्रस्तुति अगाडि इटालीका चौथो वरियता प्राप्त सिनरको केही चलेन । लागिरहेको थियो, मेडभेडेभले सजिलै फाइनल जित्ने छन् । तर त्यसपछि उनी खेलमा फर्किए र तीन घण्टा ४४ मिनेट चलेको फाइनल ३-६, ३-६, ६-४, ६-४, ६-३ ले जिते ।
रड लेभर एरेनामा भएको फाइनल जितेपछि सबैभन्दा पहिले २२ वर्षीय सिनर भुईंमा ढले, त्यसपछि आफ्नो बक्समा चढेर प्रशिक्षक सिमोन भानोजी र डरेन चाहिललाई अंगालो मारे । उनले १४ एसे प्रहार गरे भने ५० विनर्स आत्मसात् गरे । यसक्रममा उनले मेडभेडेभको चारपल्ट सर्भिस तोडे । उनी अस्ट्रेलियन ओपन च्याम्पियन हुने पहिलो इटालीका खेलाडी पनि बने ।
यस्तै उनी सन् १९७६ पछि ग्रान्ड स्लाम जित्ने पहिलो इटालीका खेलाडी पनि भए । सन् १९७६ मा एड्रिनो पानाटाले अन्तिम पटक ग्रान्ड स्लाम जित्ने खेलाडी बनेका थिए । सन् २००८ मा नोभाक जोकोभिचपछि उनी अस्ट्रेलियन ओपन जित्ने कान्छो खेलाडी पनि बने ।
सिनरले सेमिफाइनलमा कीर्तिमान १० पल्टका विजेता जोकोभिचलाई हराएका थिए । यस क्रममा प्रतियोगिताले नयाँ विजेता पाउने निश्चित भएको थियो ।