वैखरी अनलाईन, बुद्धभूमि ।
कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नं. ५ ले कृषकहरुलाई स्प्रे टयाङ्की वितरण गरेको छ । मंगलबार वडा कर्यालयमा आयोजित एक कार्यक्रमका बीच ५० जना कृषकहरुलाई उक्त कृषि सामग्री वितरण गरिएको वडा सचिव निरज थापा मगरले वैखरीलाई जानकारी दिए ।

कृषकहरुलाई वडाध्यक्ष रोम बहादुर थापा क्षेत्रीसहितका जनप्रतिनिधि र कर्मचारीहरुले हस्तान्तरण गरेका थिए । वडाध्यक्ष थापाले कृषकहरुको मागलाई मध्येनजर गर्दै स्प्रे टयाङ्की वितरण गरेको बताए ।
स्प्रे टयाङ्कीले कृषकहरुलाई बालीमा लाग्ने रोग नियन्त्रण गर्न थप सहज हुने उनले बताए । जसले कृषि उत्पादन बढ्ने उनको विश्वास छ । वडा नं. ५ कृषिका लागी पर्याप्त उर्भर भूमि भएको वडा भएको बताउँदै उनले भने, ‘यहाँ कृषिको अथाह सम्भावना छ । सम्भावना अनुसार उत्पादन गर्न सकिए कृषिबाटै आत्मनिर्भर बन्न सकिन्छ ।’

उनले वडाले कृषि क्षेत्रलाई प्राथमिकता दिएको बताए । आगामी दिनमा कृषकका लागी थप फलदायी कार्यक्रम ल्याउने उनले विश्वास व्यक्त गरे ।
स्प्रिे टयाङ्की पाएपछि कृषकहरुले खुशी व्यक्त गर्दै वडाले आफहरुको माग पुरा गरेको बताए ।








