गलकोट ।
बागलुङको सुन्तला गाउँका रुपमा परिचित सिगानाका किसानले यसवर्ष सुन्तला बिक्री गरेर रु. तीन करोड भित्र्याएका छन् । गतवर्ष भन्दा यस वर्ष सिगानामा सुन्तला उत्पादनमा वृद्धि भएको किसानको भनाइ थियो ।
यस वर्ष उनीहरुले गत वर्षकै मूल्यमा बगैँचा नै व्यापारीलाई बिक्री गरेका थिए । बोटबाटै सुन्तला बिक्री गर्दा सरदर मूल्य प्रतिकेजी रु ५० पर्न गएको छ ।
यस वर्ष उत्पादित यहाँको सुन्तला ९० प्रतिशत बजार पुगिसकेको छ । गणेश कृषि व्यावसायिक सहकारीमार्फत सुन्तलाको बजारीकरण समेत हुँदै आएको छ । बागलुङ नगरपालिका–८ सिगानाका किसानले सुन्तला बिक्रीबाट रु तीन करोड भित्राउन सफल भएका हुन् ।
सहकारीले सङ्कलन गरेको तथ्याङ्कअनुसार गत वर्ष सुन्तला बिक्रीबाट रु दुई करोड ७५ लाख भित्राइएको थियो । यस वर्ष रु तीन करोड ५० लाखको सुन्तला बिक्री गर्ने लक्ष्य रहेपनि मूल्य वृद्धि नहुँदा करिब तीन करोडको मात्रै बिक्री भएको किसानले बताएका छन् ।