रुपन्देही ।
लुम्बिनी प्रदेशका उद्योग तथा यातायात मन्त्री सरोज थापा (रोज राणा) ले सवारी चालक अनुमति पत्रका लागि लिखित परीक्षा र प्रयोगात्मक परीक्षामा अनधिकृत व्यक्तिहरूको प्रवेश नियन्त्रणका लागि भन्दै डिजिटल प्रविधिमार्फत हाजिर गराउने व्यवस्थालाई अनिवार्य बनाएका छन् ।
मन्त्रालयका सबै विभागीय प्रमुखहरूको बैठकबाट उनले यो निर्णयलाई पास गराउँदै प्रदेशमा रहेका अनुमति पाएर त्यो अनुसारका सेवा सुविधा भएका ड्राइभिङ इन्टिच्यूटहरुलाई मात्रै सिकाउन दिने गरी कडाइ गर्ने भएको जनाएका छन् ।
प्रदेशभरका विभिन्न जिल्लाहरूमा निजी क्षेत्रबाट सञ्चालन गरिएका सवारी चालक अनुमति पत्र प्रयोगात्मक परीक्षा प्रशिक्षण केन्द्रहरू मापदण्ड विपरीत सञ्चालन भएको भन्ने जनगुनासालाई सम्बोधन गर्न सम्बन्धित कार्यालयले तत्काल अनुगमन गरी मापदण्ड पुगेकाहरूलाई मात्र सूचिकृत र अन्यलाई सञ्चालनमा रोक लगाउने निर्णय गरिएको मन्त्री राणाले बताए।
बैठकले यातायात व्यवस्था कार्यालय र सेवा कार्यालयबाट सवारी चालक अनुमति पत्र लिने प्रयोजनका लागि सञ्चालन हुने प्रयोगात्मक परीक्षामा परीक्षार्थीहरूले आफ्नै सवारीसाधन वा परीक्षार्थीहरूले लिएर आउने सवारी साधनबाट प्रयोगात्मक परीक्षा सहज तरिकाले दिन पाउने यसअघिको निर्देशनलाई अक्षरस कार्यान्वयन गराउने, मलेपद्वारा औँल्याइएको बेरुजु फर्छ्यौट गर्ने, यातायात व्यवस्था कार्यालय/सेवा कार्यालयहरूले ऐन तथा ऐनमा व्यवस्था भएको मार्ग इजाजत समितिको बैठकमा पेश गर्ने गरी, हाल कायम भएका मार्ग र थप भएका मार्गहरूको समेत पहिचान गरी सूचीकृत गर्ने प्रयोजनार्थ लगत संकलन गर्ने कार्य प्रभावकारी रूपमा बढाउने निर्णय गरेको छ ।








