रुपन्देही ।
लुम्बिनी प्रदेशमा बढ्दै गएको नवजात शिशु मृत्युदर र मातृ मृत्युदर घटाउन लुम्बिनी प्रादेशिक अस्पतालले बर्थिङ सेन्टर र बाल सघन उपचार कक्ष (पीआईसीयू) सेवा सुरु गरेको छ । बिहीबार लुम्बिनी प्रदेश सरकारका स्वास्थ्यमन्त्री राजु खनालले उक्त सेवाको उद्घाटन गरेका छन् ।
परिवारका सदस्यहरू र विशेषज्ञसहित बच्चा जन्माउने सुविधासहितको बर्थिङ सेन्टर र २८ दिनदेखि १४ वर्षसम्मका बालबालिकाको सघन उपचार गर्न पीआईसीयू सेवा प्रदान गरिने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सुदर्शन थापाले बताए ।
उक्त अवसरमा स्वास्थ्यमन्त्री खनालले मन्त्रालयले प्रदेशका १३ वटा अस्पताल व्यवस्थापन गर्दै आएको बताए ।
प्रादेशिक अस्पतालमा रोकिएको भवन निर्माणको काम पनि सुरु गर्न कानूनी अड्चन हटेको बताउँदै ८०० बेड क्षमताको भवन निर्माण कार्य सुरु हुने उनको भनाइ छ ।
स्वास्थ्य निर्देशनालय लुम्बिनीका निर्देशक डा. विनोद गिरीले सामान्य केसहरूलाई बर्थिङ सेन्टरमा गर्दा जटिल बिरामीले पालो नपाउने अवस्था आउनसक्ने भन्दै त्यसतर्फ ध्यान दिन आग्रह गरे ।








