गृहपृष्ठ Featured रुपन्देहीमा सर्वाधिक राशीको राष्ट्रिय भलिबल प्रतियोगिता सुरु

रुपन्देहीमा सर्वाधिक राशीको राष्ट्रिय भलिबल प्रतियोगिता सुरु

रुपन्देही ।

माघ २६ गतेदेखि यस क्षेत्रमा सबैभन्दा धेरै राशीको भलिबल प्रतियोगिता रुपन्देहीमा सुरु हुन लागेको छ । मणिमुकुन्द भलिबल क्लबको आयोजनामा ९ औ मणिमुकुन्द कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता–२०८० मा सहभागी हुन विभागीय टीमसहितका सबै प्रदेशका टोली यहाँ आइपुगेका छन् ।

प्रतियोगितामा उपाधि विजेताले नगद २ लाख रुपैयाँ, कप, मेडल, प्रमाणपत्र, द्वितीय पुरस्कार नगद १ लाख ५० हजार, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ । यसै गरी तृतीय टिमले नगद १ लाख रुपैयाँ तथा सान्त्वना टीमले नगद ५० हजार, कप, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ ।

यसै गरी विधागत सर्वोत्कृष्ट खेलाडीलाई नगद १० हजार, कप, मेडल तथा उत्कृष्ट स्पाईकर, सेटर, सर्भर, ब्लकर, डिफेन्स, प्रशिक्षक, अनुशासित र उदयमान खेलाडीलाई जनही ५ हजार रुपैयाँ, कप र प्रमाणपत्रबाट पुरस्कृत गरिने व्यवस्था पनि रहेको छ । प्रतियोगिता सम्पन्न गर्न करिब ६० लाख लाग्ने अनुमान गरिएको छ ।

प्रतियोगिताका खेलहरू भलिबलको अन्तर्राष्ट्रिय नियमअनुसार नेपाल भलिबल संघका अफिसियल तथा रेफ्रीहरुले खेलाउनु क्लबका अध्यक्ष लोकेन्द्र बहादुर भण्डारीले जनाएका छन् । खेल मैदानमा तयार पारिएको कोर्टमा म्याटको व्यवस्था गरिएको छ भने चारैतिर करिब ३ हजार दर्शक एकै पटक बसेर खेल हेर्न मिल्ने गरी अस्थायी प्याराफिट बनाइएको छ ।
प्रदेश खेलकुद परिषद् लुम्बिनीको प्रवर्द्धन र मुख्य प्रायोजन, नेपाल भलिबल संघको संयोजन, रहेको यो प्रतियोगिताले यस क्षेत्रमा भलिबल प्रेमीलाई उत्साहित बनाएको खेलकुद पत्रकार संघ रुपन्देहीका अध्यक्ष सुमन अधिकारी बताउँछन् ।

प्रतियोगिता आयोजना स्थल तिलोत्तमा नगरपालिका वडा नं. २ स्थित क्लबको भलिबल खेल मैदानमा करिब ३ हजार दर्शक अट्ने अस्थायी प्याराफिट तथा कोर्ट निर्माण गरिएको छ । मैदानलाई आकर्षक रूपमा सजाउनुका साथै सुरक्षाको प्रबन्धका लागि आवश्यक सबै काम भएको क्लबले जनाएको छ ।

सम्बन्धित् समाचार