काठमाडौँ ।
राष्ट्रिय सभा अध्यक्ष निर्वाचनमा सत्तारूढ दल नेकपा(माओवादी केन्द्र)ले आफ्नै उम्मेदवार उठाउने निर्णय गरेपछि गठबन्धन अप्ठ्यारोमा परेको छ ।
बुधबार सम्पन्न माओवादीको स्थायी समिति बैठकले आगामी निर्वाचनमा अध्यक्षका लागि उम्मेदवारी दिने निर्णय गरेको हो ।
प्रवक्ता अग्निप्रसाद सापकोटाले एकल उम्मेदवार उठाउने विषय रणनीतिक नभई कार्यनीतिक विषय भएकाले गठबन्धनमा कुनै असर नपर्ने दाबी गरे । कार्यनीतिक विषय अन्तिम चरणमा उम्मेदवारी फिर्ता लिने हो वा अन्य दलसँग तालमेल गर्ने भन्ने विषयमा उनले केही खुलाउन चाहेनन् ।
राष्ट्रिय सभाका वर्तमान अध्यक्ष गणेशप्रसाद तिमिल्सिना ६ वर्षे कार्यकाल पुरा गरी फागुन २० गते बिदाइ हुँदैछन् । अध्यक्षका लागि फागुन २९ गते निर्वाचन गर्ने संसद् सचिवालयको तयारी छ ।
भविष्यमा संवैधानिक शून्यता नहोस् भनेर दीर्घकालीन सोचअनुसार पार्टीले निर्णय गरेको उनको भनाई थियो ।