दाङ ।
घोराहीको सभागृहबाट सुरु भएको सांस्कृतिक झाँकी र प्रस्तुतिसहितको र्याली बजार परिक्रमा गरी महोत्सवस्थलमा पुगेर टुंगिएको थियो । ‘पर्यटक कलाकारको स्वागत सत्कार, नेपाली लोक संस्कतिको आधार’ भन्ने मूल नाराका साथ महोत्सव आयोजना गरिएको हो । महोत्सव स्थलमा पुगेर विभिन्न देशका कलाकारहरुले प्रस्तुति गरेका थिए ।
जसमा विभिन्न देशका साथै नेपालका विभिन्न जातजातिका मौलिक संस्कृति पनि प्रदर्शन गरिएको थियो । एकै थलोमा धेरै देशका कलाकर्मीहरूको प्रस्तुति हुँदा कला संस्कृतिको आदानप्रदान हुनुका साथै स्थानीय संस्कृतिको अन्तर्राष्ट्रियकरण हुने मूल आयोजक समितिका संयोजक एवं दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष वसन्त जोशीले बताए । ‘यसबाट अन्तरदेशीय सम्वन्ध समेत प्रगाढ बनाउन सहयोग पुग्नेछ,’ उनले भने, ‘कला संस्कृतिमार्फत सम्बन्ध जोडिने छ ।’








