राधा पाण्डे
कपिलवस्तु ।
दधि–स्मृति साहित्य समाज कपिलवस्तु नेपालको आयोजनामा राष्ट्रिय कवि गोष्ठी, रचना वाचन तथा स्रष्टा सम्मान कार्यक्रम सम्पन्न भएको छ । “कला, साहित्य हाम्रो स्वाभिमान, संस्कृति जगेर्ना हाम्रो अभियान” भन्ने मुल नारालाइ आत्मसात गर्दै शनिबार बाणगंगा नगरपालिका- ९ कपिलधाममा कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रममा नेपाली साहित्यको श्रीबृद्धिमा लाग्नुभएका देशभरिबाट विभिन्न जिल्लाका सात जना कविहरू सम्मानित हुनुभएको छ। शिव तुलसा छन्द रथि पुरस्कारबाट भैरहवाका साहित्यकार रुद्र ज्ञवाली, साहित्य रत्न पुरस्कारबाट काठमाडौका श्यामबहादुर भावुक, काव्य साधक पुरस्कारबाट चितवनका साहित्यकार गिरिराज डल्लाकोटी, साहित्य श्री पुरस्कारबाट वाणगङगाका साहित्यकार कृष्ण प्रसाद पाण्डे , वासु साहित्य पुरस्कारबाट ठाकुर प्रसाद पोख्रेल, आख्यान साहित्य पुरस्कारबाट अमृत भुसाल ‘पियूष’ र प्राची वाल साहित्य पुरस्कारबाट कविता अधिकारी सम्मानित हुनुभएको हो ।
कार्यक्रमका प्रमुख अतिथी जङ्गबहादुर शाहले साहित्य, संगीत र कला एक अर्काका पर्याय हुन् भन्ने कुरा कसैले भुल्नु नहुने बताउनु भयो । उहाँले हामी आफैंले भाषा साहित्यलाई अधोगतितिर लगेकोले अब साहित्यकारदेखी सत्तामा रहेका सबैले जगेर्ना गर्न लागिपर्नु पर्ने स्पष्ट पार्नुभयो । संस्कृत र नेपाली भाषालाई हामिले नजिकबाट केलाउदै कथ्य र लेख्यमा ध्यान दिन आग्रह गर्नुभयो । नेपाली भाषा, साहित्य, कला सङ्गीत नहुने मान्छे पशु सरह हुने भएकोले कुनै न कुना कला लिएर ज्युनु पर्ने बताउनुभयो ।
कार्यक्रमका विशिष्ट अतिथी रामचन्द्र श्रेष्ठले साहित्य लेख्न एकदम लगाव आवश्यक रहने बताउनुभयो । उहाँले कविता लेख्न गाह्रो हुने हुनाले साधनामा लाग्नुपर्ने तर्क राख्दै हामी सबै सक्षम छौँ, हामिभित्र साहित्यको रश्मि रहेकोले त्यसलाइ उजागर गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
सम्मानित स्रष्टा गिरिराज डल्लाकोटीले साहित्य आफ्नो मुटुको ढुकढुकी रहेकोले आफुले साहित्यलाइ शिरमा राखेको स्पष्ट पार्दै उहाँले प्रबिधा ञकोपिलाझ को बारेमा समेत जानकारी दिनुभयो ।
यस्तैगरि शिव तुलसा छन्दरथी पुरस्कारका संस्थापक धातानन्द भुसालले साहित्य रोगको औषधि भएकोले यसको रसपान गर्दा केही रोग समेत निको हुने कुरा व्यक्त गर्नुभयो ।साहित्य समाजको ऐना भएकोले सबैले नेपाली भाषा साहित्यलाइ जगेर्ना गर्नु आवश्यक रहेको बताउनुभयो ।
यस्तै कार्यक्रममा संस्थाका सह-सचिव राधा पाण्डे , प्रबिण अधिकारी, सन्ध्या खनाल, रामप्रकाश चौधरी, मोहन पन्थी, टङकप्रसाद आचार्य लगायत २ दर्जन बढी साहित्यकारहरुले आ-आफ्ना रचना वाचन गर्नुभएको थियो ।
संस्थाका अध्यक्ष लेखनाथ घिमिरेको अध्यक्षता, सचीव सुशील अर्यालको स्वागत मन्तब्य रहेको कार्यक्रम उपाध्यक्ष दुर्गाप्रसाद अधिकारीको संचालनमा सम्पन्न भएको थियो।