पाल्पा ।
‘कृषि उत्पादन बढाऔं, परनिर्भरताको अन्त्य गरौ’ भन्ने मूलनाराका साथ शनिबार आयोजित दोस्रो कृषि मेला तथा प्रदर्शनीमा रौनकता थियो । सुख्खा मौसम भए पनि किसानले उत्कृष्ट कृषि प्रदर्शनी गरे ।
तानसेन नगरपालिका- ९ टिन्टी आँपको मदनपोखरा संगम बहुउद्देयीय सहकारी संस्थाले वडा कार्यालयको सहयोगमा राखेको दोस्रो कृषि मेला प्रदर्शनीले किसानलाई कृषिमा प्रोत्साहन गर्न सहयोग मिलेको सहभागी किसानले बताएका छन् ।
सहभागी किसानले उत्पादनमा आधारित, ढुवानी अनुदान, बजारीकरणमा सहजीकरण गर्न सरकारसँग मागसमेत गरे । तानसेन नगरपालिकाका विभिन्न स्थानका साथै माथागढी र बगनासकालीका किसानले समेत उत्पादित खाद्य तथा तरकारीको प्रदर्शनीका लागि ल्याएका थिए ।
प्रतियोगितात्मक कृषि प्रदर्शनी, रैथाने बाली प्रदर्शनी, प्रतियोगितात्मक बाख्रा, कुखुरा प्रदर्शनी, कृषियन्त्र उपकरण प्रदर्शनी, बीउबिजन प्रदर्शनी तथा बिक्रीवितरण गरिएको मदनपोखरा संगम बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष घनश्याम घिमिरेले बताए । प्रदर्शनीमा नर्सरी बिरुवा बिक्री वितरण, पशु रोग निदान तथा गोबर परीक्षण, कृषि संवाद कार्यक्रम, कृषि परिकारहरुको स्टल, प्लान्ट क्लिनिक, जैविक मल प्रदर्शन र माटो परीक्षण गरिएको वडाध्यक्ष राजेशकुमार अर्यालले बताए ।








