रुपन्देही ।
नेकपा एमाले रुपन्देहीको दशौं अधिवेशन आगामी जेठ १६ र १७ गते भैरहवामा हुने भएको छ । बिहीबार बसेको दशौं पूर्ण बैठकले जिल्ला अधिवेशनको मिति तय गरेको हो ।
अधिवेशनअघि पार्टी सदस्यता नवीकरण, पार्टी स्कुल सञ्चालनका साथै अधिवेशन लक्षित विभिन्न उपसमितिहरु गठन गर्नेलगायतका निर्णय गरेको पार्टीका जिल्ला प्रचार विभाग प्रमुख हितराज पन्थीले जानकारी दिए ।
पार्टी जिल्ला अध्यक्ष तेजेन्द्र केसीको अध्यक्षता र पार्टी केन्द्रीय सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज पद्मा अर्यालको प्रमुख आतिथ्यमा बसेको बैठकले जिल्ला अधिवेशनको मिति तय गर्नुका साथै विभिन्न निर्णयहरु गरेको प्रचार विभाग प्रमुख पन्थीले बताए ।
उक्त बैठकमा पार्टीका पोलिटब्यूरो सदस्य तथा रुपन्देही इन्चार्ज दलबहादुर राना, पोलिटब्यूरो सदस्य लिला गिरी, दधिराम न्यौपाने, केन्द्रीय सदस्य भूमिश्वर ढकाल, केन्द्रीय सदस्यहरु सावित्रा अर्याल, गोमा आचार्य तथा केन्द्रीय निर्वाचन आयोगका सदस्य भरत पोखरेल, एमाले लुम्बिनी प्रदेश कमिटी अध्यक्ष राधाकृष्ण कडेल, उपाध्यक्ष भोजप्रसाद श्रेष्ठ र केन्द्रीय सल्लाहकार परिषद् सदस्य रामप्रसाद भट्टराईलगायतका नेताहरुको आतिथ्यमा बैठक सम्पन्न भएको थियो ।
अधिवेशनका लागि जिल्ला अध्यक्ष केसीको संयोजकत्वमा जिल्ला कमिटीका सबै रहनेगरी मूल व्यवस्थापन कमिटी गठन गरिएको छ ।








