कपिलवस्तु ।
नेकपा एमालेका पोलिट ब्यूरो सदस्य एवम् कपिलवस्तु इन्चार्ज खिमलाल भट्टराईले आगामी जिल्ला अधिवेशनबाट कपिलवस्तुमा नेतृत्व सर्वसम्मत चयन हुने विश्वास व्यक्त गरेका छन् । नेता भट्टराईले पार्टी नेता, कार्यकर्ताको भावना अनुसार खुलस्त छलफल गर्दै पार्टी नेतृत्व चयन गर्ने जिकिर गरे । नेता भट्टराईले एमाले जिल्ला सचिवालयको बैठकलाई शुक्रबार सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
उनले युवा नेतृत्व निर्माणप्रति लक्षित गर्दै राजनैतिक वैचारिक परिपक्कता हुनुपर्नेमा जोड दिए । उनले आफ्नो पदीय जिम्मेवारी पुरा गर्न नसक्ने तर नेताको वरिपरि घुम्ने र आफ्नो पद जोगाउने परिपाटीको अन्त्य गर्दै जनताको बीचमा काम गर्ने कार्यकर्ता स्थापित गर्ने काममा पार्टीले ध्यान पु¥याउने बताए ।
जिल्ला सचिवालय वैठकले यही वैशाख २९ र ३० गते जिल्ला अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको छ । वैठकले पालिका तथा जनसंगठनको अधिवेशन जेष्ठ मसान्त भित्र सम्पन्न गर्ने निर्णय गरेको छ । वैठकले पार्टीको जिल्ला अधिवेशनमा महिलालाई ३३ प्रतिशत, युवाको १५ प्रतिशत प्रतिनिधीत्व अनिवार्य गरेको छ ।
त्यस्तै वैठकले समावेशीतालाई पनि जोड दिएको जनाएको छ । अधिवेशनलाई ब्यवस्थित रुपमा सम्पन्न गर्नका निम्ति एक दर्जन बढी उपसमिति निर्माण गरेको जनाएको छ । अधिवेशनमा करिव ६ सय प्रतिनिधीहरु सहभागि रहने नेकपा एमाले कपिलवस्तुले जनाएको छ ।








