गृहपृष्ठ Featured प्रथम कपिलवस्तु-तिलौराकोट गोल्डकपको तयारी पुरा : भोलि मन्त्री अधिकारीले उद्घाटन गर्ने

प्रथम कपिलवस्तु-तिलौराकोट गोल्डकपको तयारी पुरा : भोलि मन्त्री अधिकारीले उद्घाटन गर्ने

सागर वि.क., वैखरी अनलाईन।

प्रथम कपिलवस्तु तिलौराकोट गोल्डकप फुटबल प्रतियोगिता- २०८० को सम्पुर्ण तयारी सकिएको छ । जिल्ला फुटवल संघ कपिलवस्तुको आयोजनामा उक्त प्रतियोगिता भोलिदेखि बाणगंगा नगरपालिकाको चारनम्बर जितपुरमा अवस्थित बुद्धरंगशालामा सुरु हुदैंछ । आन्तरिक, बाह्य व्यवस्थापनदेखि खेल मैदान व्यवस्थापनको सम्पुर्ण काम सम्पन्न भएको जिल्ला फुटवल संघ कपिलवस्तुका अध्यक्ष तिलक थापाले जानकारी दिए ।

लुम्बिनी प्रदेशकै सबैभन्दा बढी धनराशीको उक्त प्रतियोगिता यही चैत्र १७ गतेदेखि २४ गतेसम्म हुँदैं छ । प्रतियोगिताको उद्घाटन भोलि दिउँसो ३ बजे कपिलवस्तु क्षेत्र नं.१ का सांसद समेत रहेका भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले कार्यक्रम रहेको अध्यक्ष थापाले जानकारी दिए ।

उनका अनुसार प्रतियोगिताको समापन कार्यक्रममा पूर्वमन्त्री समेत रहेका कपिलवस्तु क्षेत्र नं.२ का सांसद सुरेन्द्रराज आचार्य आउने छन् । उनले प्रतियोगितामा ’ए’ डिभिजनका क्लबसहित ८ टोलीको सहभागिता रहने छ । जसमा थ्री स्टार क्लब, त्रिभुवन आर्मी क्लब, मछिन्द्र क्लब, नेपाल पुलिस क्लब, हनामी बीएफसी, सुदूरपश्चिम–११, सहारा क्लब र आयोजक टिमबाट कपिलवस्तु –११ रहनेछन् । अध्यक्ष थापाले यस प्रतियोगितामाले खेलाडीहरुलाई खेलप्रति प्रोत्साहन गर्नुका साथै राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरमा कपिलवस्तु जिल्लासहित यस क्षेत्रका पर्यटकिय स्थलहरुको प्रचारप्रसार गर्न सघाउ पुग्ने विश्वास व्यक्त गरे ।

प्रथम कपिलवस्तु तिलौराकोट गोल्डकप व्यवस्थापन गर्नका लागि करिब १ करोड १८ लाख खर्च हुने अनुमान गरिएको छ । प्रतियोगिताको उपाधि जित्ने टोलीले ११ लाख ११ हजार १११ र दोस्रो हुनेले ५ लाख ५५ हजार ५५५ रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

यस गोल्डकपको संरक्षकको रुपमा बाणगंगा नगरपलिका, बुद्धभूमि नगरपालिका, शिवराज नगरपालिका, कपिलवस्तु नगरपालिका, विजयनगर गांउपालिका, महाराजगंज नगरपालिका, कृष्णनगर नगरपालिका, प्रदेश खेलकुद परिषद लुम्बिनी र स्थानीय संघसंस्थाहरु रहेका छन् ।

सम्बन्धित् समाचार