बुटवल ।
माछा मार्न र पौडी खेल्न गएका गुल्मीका दुई जनाको बडिगाड खोलामा डुबेर मृत्यु भएको छ । आइतवार गुल्मीको गुल्मीदरबार गाउँपालिका–२ घोराहाका १२ वर्षिय प्रिन्स सारु र शनिवार मुसिकोट नगरपालिका–४ आरुपाटाका २१ वर्षिय सन्दीप कुमालको मृत्यु भएको हो ।
दुवैको शव प्रहरी र स्थानीयको सहयोगमा खोलाबाट निकालिएको हो । जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी निरीक्षक सुर्यमान चौधरीका अनुसार शनिवार बेलुका ५ बजेतिर पौडी खेल्ने क्रममा खोलामा बेपत्ता भएका प्रिन्स सारुको शब चन्द्रकोट गाउँपालिका– ७ सोता भन्ने स्थानमा फेला परेको हो ।
मजुवा प्रहरी चौकीका इन्चार्ज कमल बञ्जाडेको नेतृत्वमा पुगेको प्रहरी टोलीले उनको शव फेला पारेका थियो । त्यस्तै मुसिकोटको आरुपाटाका सन्दीपलाई ग्वादीकाचौर नजिकै बडिगाड खोलामा फेला परेको हो । उनी माछा मार्नका लागि जाल खेल्ने क्रमा डुबेर बेपत्ता भएका थिए । माछा मार्ने जालको डोरी खुट्टामा बेरिएको अबस्थामा सन्दीप फेला परेका थिए ।
सन्दीप पानीमा जालसँगै डुबेपछि माछा मार्न साथी गएका छिमेकी १५ वर्षीय पवन कुमालले वडा सदस्य लोकबहादुर कार्कीलाई खबर गरेका थिए । वामीटक्सार प्रहरी चौकीका इन्चार्ज नायव प्रहरी निरिक्षक लक्ष्मण विश्वकर्माको नेतृत्वमा घटनास्थल पुगेको टोलीले सन्दीपलाई गम्भीर अवस्थामा खोलाबाट उद्धार गरेका थिए ।
उपचारका पाल्पाको लुम्बिनी मेडिकल कलेज पुर्याईपनि राति ८ बजे उपचारकै क्रममा उनको मृत्यु भएको सई विश्वकर्माले बताए ।








