गुल्मी ।
संरचना अभावले गुल्मी अस्पतालको सेवा प्रवाहमा समस्या हुँदै आएको छ । भवनहरू सेवाग्राहीमैत्री नहुँदा समस्या भएको अस्पताल प्रशासनले बताएको छ । अस्पतालबाट दैनिक करिब ४ सय बिरामीले सेवा लिइरहेका छन् ।
अस्पतालको अत्याधुनिक भवन निर्माणाधीन छ । तर निर्माणको काम सुस्त हुँदा सेवा प्रवाहमा थप समस्या भएको अस्पताल विकास समितिका अध्यक्ष गोपालप्रसाद पाण्डेले जानकारी दिए ।
नयाँ भवन ५ तल्लाको हुने गरी २५ करोड ९५ लाख ६४ हजार रुपैयाँमा ठेक्का लागेको छ । १८ असार २०७८ मा सम्झौता भइ काम सुरू भएको भवन निर्माण १७ असार २०८० मा सम्पन्न हुनुपर्ने थियो । तर सम्झौता अवधिमा निर्माण कार्य सम्पन्न हुन नसकेपछि १७ पुस २०८० सम्मको लागि सम्झौता नवीकरण गरिएको थियो ।
थपिएको समयमा पनि काम सम्पन्न हुन नसकेपछि अहिले सम्झौता विनै निर्माणको काम भइरहेको छ । भवन निर्माणको जिम्मा स्वच्छन्द बानियाँ जेभी हेटौंडाले लिएको छ । निर्माण अवधिको म्याद थपको लागि छलफल चलिरहेको अस्पताल विकास समितिका अध्यक्ष पाण्डेले बताए ।